पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को चौथो वार्षिकोत्सवमा शुभकामना, नियुक्ति प्रक्रिया अघि बढाउन माग
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को चौथो वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै परिषद्लाई पूर्णता दिन अध्यक्षसहित सदस्यहरूको नियुक्ति प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।
एसोसिएसनका केन्द्रीय कार्यसमिति अध्यक्ष रामप्रसाद मेहताले वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै परिषद्को संस्थागत कामकारबाहीलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई कानुनी रूपमा दर्ता गर्ने, नियमन गर्ने तथा उनीहरूको कार्यजिम्मेवारी सुनिश्चित गर्ने उद्देश्यले करिब २५ वर्षको निरन्तर संघर्षपछि परिषद् स्थापना भएको एसोसिएसनले जनाएको छ। परिषद्को स्थापनाले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको सन्देशमा उल्लेख छ।
सरकारी तथा सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि परिषद्का अध्यक्षसहित सदस्यहरू पदमुक्त भएको र त्यसपछि संस्थागत कामकारबाहीमा अन्योल सिर्जना भएको एसोसिएसनको भनाइ छ। कृषि, वन तथा वातावरण मन्त्रालयले थप जिम्मेवारीसहित अध्यक्ष तोके पनि प्रक्रियागत रूपमा अध्यक्ष तथा सदस्यहरूको नियुक्ति हुन नसक्दा परिषद्को प्रभावकारी कार्यसम्पादनमा कठिनाइ भइरहेको सन्देशमा उल्लेख गरिएको छ।
एसोसिएसनले प्रचलित कानुन र विधिसम्मत प्रक्रियाअनुसार परिषद्का अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरी संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, परिषद्को ऐन तथा नियमावलीका आधारमा आवश्यक आचारसंहिता, मापदण्ड र विनियमावली निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ। दर्ता हुन बाँकी रहेका योग्य प्राविधिक जनशक्तिलाई दर्ता प्रक्रियामा समेटेर उनीहरूको पेसागत पहिचान र कानुनी अधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।
पशु चिकित्सा परिषद्सम्बन्धी ऐन संशोधन तथा परिमार्जनका नाममा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को कार्यक्षेत्र सीमित गर्ने र दुई परिषद् एकीकरण गर्ने विषयमा भइरहेका गतिविधिप्रति एसोसिएसनले चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले परिषद्को कार्यसम्पादनमा जटिलता थप्नुका साथै यसको स्वायत्तता, कार्यक्षेत्र र मूल उद्देश्यमा प्रतिकूल असर पार्न सक्ने उसको भनाइ छ।
परिषद्मा दर्ता भएका प्राविधिक जनशक्तिको पेसागत पहिचान, प्रतिनिधित्व र कानुनी अधिकार संरक्षण गर्न एसोसिएसन प्रतिबद्ध रहेको अध्यक्ष मेहताले उल्लेख गरेका छन्।
परिषद्को कार्यान्वयनका विषयमा सरकारी निकायहरूमा देखिएको अस्पष्टता र विभिन्न क्षेत्रबाट उत्पन्न जटिलताले अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ भइरहेको भन्दै एसोसिएसनले सम्बन्धित सरकारी निकाय, संघसंस्था, प्राविधिक जनशक्ति तथा व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ।
एसोसिएसनले परिषद्लाई प्रभावकारी र सशक्त संस्थाका रूपमा विकास गर्न, दर्ता भएका जनशक्तिको कानुनी अधिकार सुनिश्चित गर्न तथा शैक्षिक संस्थाबाट गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन हुने वातावरण बनाउन आवश्यक रहेको जनाएको छ। साथै, पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमार्फत कृषकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आपसी समन्वय, सहकार्य र समझदारीमा जोड दिइएको छ।
चौथो वार्षिकोत्सवका अवसरमा एसोसिएसनले परिषद्को उद्देश्य, स्वायत्तता र अधिकारको संरक्षण गर्दै पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रलाई व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवालालाई एकजुट हुन अपिल गरेको छ।
