नेपालमा भेटेरिनरी क्षेत्रको वर्तमान अवस्था र सुधारका उपाय

भेटेरिनरी विषय जनताको नैसर्गिक अधिकारको विषय हो। यो पेसा जनता र व्यवसायीको आधारभूत सुविधासँग पनि सम्बन्धित छ। यसैलाई व्यवस्थित गर्न ‘नेपाल भेटेरिनरी काउन्सिल’ र ‘नेपाल भेटेरिनरी एसोसिएसन’को गठन भई काम गरिरहेका छन्। हाल ह्याचरीहरू जैविक सुरक्षामा रही विषय विशेषज्ञद्वारा सञ्चालन भइरहेका छन्। तर, अन्य फार्म तथा व्यवसायहरूको अवस्था के छ? तल वर्णन गरिएको छ।

यो फिल्डमा जो प्राविधिक कृत्रिम गर्भाधान (Artificial Insemination) गर्न जान्छ, उसलाई उक्त फार्ममा भएका सबै समस्याहरू देखाइन्छ र जाने–नजाने सबै उपचार तथा काम जबर्जस्ती गर्नुपर्छ। नेपाल देशको कन्तबिजोग नै यही हो। अब भेटेरिनरी कलेज स्थापना गरेर भेटेरिनरी ग्राजुएट किन निकाल्नुपर्‍यो?

हाल नेपालमा १,७०० भन्दा बढी रजिस्टर्ड भेटेरिनरी डाक्टरहरू छन् र करिब आधाजति विदेशमा छन्। देशभित्र ६,००० भन्दा ज्यादा जुनियर प्राविधिकहरू भएको सुनिन आएको छ। फिल्ड स्तरमा गरिने सम्पूर्ण कामहरू जस्तैः बिमा, फार्मेसी, किसानको गोठ तथा व्यावसायिक फार्म भिजिट गर्ने प्रथम प्राविधिक नै जुनियर प्राविधिकहरू हुन्। यो सबै कमजोरीको जिम्मेवारी हामी पशु चिकित्सक, नेपाल भेटेरिनरी काउन्सिल र भेटेरिनरी एसोसिएसनलगायतले लिनुपर्छ।

अब विश्वस्तरमा यो पेसा कसरी सञ्चालन भइरहेको छ? अब हामीले गर्नुपर्ने के?

(१) भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशलगायत दक्षिण एसियाली राष्ट्रहरूमा कहीँ पनि हाम्रो जस्तो जुनियर प्राविधिकको उत्पादन हुँदैन। यसैले हामीले पनि मौजुदा प्राविधिकहरूको योग्यता अनुसार कामको वर्गीकरण गरी सम्बन्धित निकाय, नेपाल सरकार, नेपाल भेटेरिनरी काउन्सिल र एसोसिएसनले कडाइका साथ लागू गर्नुपर्छ। अब पनि कार्तिकमा छोडेको राँगो जस्तो छाड्यौँ भने यो व्यवसायमा थप संकट आउनेछ।

(२) साधारण पढेलेखेका युवा–युवतीलाई १–२ महिनाको कृत्रिम गर्भाधान तालिम दिने र उनीहरूलाई औषधि उपचारमा संलग्न नगराउने।

(३) पशु चिकित्सकको उत्पादन संख्या बढाउँदै सम्पूर्ण पालिकाहरूमा उनीहरूलाई पदस्थापना गरी क्रमशः सहायक कर्मचारी खटाई मद्दत गर्दै जाने।

(४) फिल्ड स्तरमा आज त्यस्ता जुनियर प्राविधिकहरूलाई भेटेरिनरी डाक्टर भनेर कृषक र व्यवसायीले चिन्छन् र बोलाउँछन्। यसलाई मध्यनजर राखेर अब यो फिल्डलाई कसरी लैजाने भन्ने विषयमा सोच्न ढिला भइसकेको छ।

(५) नेपाल पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली, २०५७ मा साधारण हेरफेर गरेर भेटेरिनरी ऐन कडाइका साथ लागू गर्न सकिँदैन?

(६) पशु बधशाला ऐन, २०५५ र नियमावली, २०५७ लाई कडाइका साथ लागू गर्न काउन्सिललाई केले रोक्यो? काउन्सिलको काम जबर्जस्ती क्वारेन्टाइन ऐन लागू गर्ने माग गर्नु हो र? क्वारेन्टाइन पनि राम्ररी टाइट गर्न सकेको छैन। एउटै ट्रकमा १५–२० भैँसी प्रायः भारतबाट आउँछन्। यसमा क्वारेन्टाइन र काउन्सिलले कसरी राम्रो गरेको छ?

बोर्डरमा बनाइएका होल्डिङ यार्ड (Holding Yard) आज कति कार्यरत छन्? हामीले जबसम्म बोर्डरमा होल्डिङ यार्डमा बिरामी पशु राख्दैनौँ, हाम्रो क्वारेन्टाइन ऐन राम्ररी चल्दैन।

लेखक डा. टीकाराम न्यौपाने पशु चिकित्सक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *