मकै र भटमासको मूल्यमा उछाल, पोल्ट्री उद्योग संकटमा
दाना उत्पादनको मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य एकाएक बढ्दा त्यसको प्रभाव दाना उद्योगमा मात्र सीमित रहँदैन। यसको सीधा असर कुखुरा, अण्डा, दूध र मासु उत्पादनको लागतमा पर्छ। त्यसैले कच्चा पदार्थको मूल्यअनुसार दानाको मूल्य स्वतः समायोजन हुने पारदर्शी प्रणालीबारे अब गम्भीर बहस आवश्यक छ।
हरेक कृषिजन्य उत्पादन मौसमी प्रकृतिको हुन्छ। दाना उद्योगमा प्रयोग हुने मुख्य तथा सहायक कच्चा पदार्थ पनि निश्चित सिजनमा बढी उपलब्ध हुन्छन्। त्यसैले उद्योगी तथा व्यापारीले उत्पादनको सिजनमै ठूलो परिमाणमा खरिद वा अग्रिम सौदाबाजी गरी भण्डारण गर्ने र अफसिजनमा प्रयोग गर्ने सामान्य व्यावसायिक अभ्यास हो।
दाना उद्योगको प्रमुख कच्चा पदार्थमध्ये मकै दक्षिण एसियामा मुख्यतः मेदेखि जुलाईसम्म उत्पादन हुने गर्छ। मध्य तथा दक्षिण भारतका केही क्षेत्रमा भने वर्षका अन्य समयमा पनि उत्पादन हुन्छ। भटमासको उत्पादन भारत र अमेरिकामा सेप्टेम्बरदेखि नोभेम्बरसम्म बढी हुन्छ भने ब्राजिल, अर्जेन्टिनालगायत दक्षिणी गोलार्धका मुलुकमा फेब्रुअरीदेखि अप्रिलसम्म उत्पादनको मुख्य सिजन हुन्छ।
यसकारण अन्तर्राष्ट्रिय बजारमा कृषि उपजको मूल्य केवल उत्पादनको परिमाणले मात्र होइन, उत्पादनको सिजन, भण्डारण, ढुवानी, माग, आपूर्ति र भू–राजनीतिक अवस्थाले समेत निर्धारण गर्छ।
आयातमा ठूलो निर्भरता
नेपालका दाना उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको ठूलो हिस्सा अझै आयातमा निर्भर छ।
भटमास, भटमासको पिना तथा अन्य सोयाजन्य कच्चा पदार्थको करिब सम्पूर्ण आवश्यकता भारत, अमेरिका, बंगलादेशलगायत मुलुकबाट आयात गरेर पूरा गर्नुपर्ने अवस्था छ। मकैको ठूलो हिस्सा नेपालमै उत्पादन भए पनि बाँकी आवश्यकता भारतबाट आयात हुँदै आएको छ।
नेपालका दाना उद्योगले वार्षिक करिब ७ लाख ५० हजार मेट्रिक टन मकै र ३ लाख ५० हजार मेट्रिक टनभन्दा बढी भटमासजन्य कच्चा पदार्थ खपत गर्ने अनुमान छ।
यति ठूलो परिमाणको कच्चा पदार्थ आवश्यक पर्ने उद्योगका लागि नियमित, भरपर्दो र प्रतिस्पर्धी आपूर्ति स्रोत अत्यन्त महत्त्वपूर्ण हुन्छ।
नेपालका लागि भौगोलिक रूपमा सबैभन्दा छिटो र व्यावहारिक आपूर्ति स्रोत भारत हो। अन्य मुलुकबाट कच्चा पदार्थ ल्याउँदा समुद्री ढुवानी, बन्दरगाह, ट्रान्जिट, भन्सार र आन्तरिक ढुवानीलगायतका कारण लागत र समय दुवै बढ्छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा देखिएका अवरोध, समुद्री ढुवानीको बढ्दो लागत तथा पेट्रोलियम पदार्थको मूल्यमा आएको अस्थिरताले भारतबाहेकका मुलुकबाट हुने आयात थप महँगो र जटिल बनेको छ।
भारतको बजारमा भएको परिवर्तनको असर नेपालमा
भारतको जनसंख्या बढ्दो छ। साथै पशुजन्य प्रोटिनको उपभोग पनि निरन्तर बढिरहेको छ। मासु, दूध र अण्डाको माग बढेसँगै पशुपन्छीको दानामा प्रयोग हुने कच्चा पदार्थको आन्तरिक माग पनि बढेको छ।
उत्पादन क्षमता सोही अनुपातमा नबढ्दा माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको छ। यसको प्रत्यक्ष असर मकै, भटमासको पिना र अन्य दाना कच्चा पदार्थको मूल्यमा परेको छ।
पछिल्लो अवधिमा भारतमा दानाका प्रमुख कच्चा पदार्थको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। भारतीय दाना उद्योगले पनि आफ्नो उत्पादन लागतका आधारमा पटक–पटक दानाको मूल्य समायोजन गर्दै आएका छन्।
कतिपय अवस्थामा भारतीय बजारमा दानाको मूल्य नेपाली बजारको तुलनामा समेत उच्च हुन पुगेको छ। यसको असर नेपाली दाना उद्योगमा नपर्ने प्रश्नै हुँदैन।
सस्तो कच्चा पदार्थसमेत अस्थिर
दानामा प्रयोग हुने तुलनात्मक रूपमा सस्तो कच्चा पदार्थमध्ये एक डीओआरबी अर्थात् डी–ओइल्ड राइस ब्रान हो। यसको आपूर्ति मुख्यतः भारत र बंगलादेशबाट हुन्छ।
तर ती मुलुकले आफ्नो आन्तरिक आवश्यकतालाई प्राथमिकता दिँदै समय–समयमा यस्तो सामग्रीको निर्यात रोक्ने वा नियन्त्रण गर्ने गरेका छन्। निर्यात प्रतिबन्ध लाग्नेबित्तिकै नेपाली उद्योगले वैकल्पिक कच्चा पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ।
विकल्प प्रायः महँगो हुन्छ। फलतः दानाको उत्पादन लागत स्वतः बढ्छ। पछिल्ला महिनामा कच्चा पदार्थको मूल्यमा आएको परिवर्तनलाई हेर्दा समस्या कति गम्भीर छ भन्ने देखिन्छ।

यी आँकडाले विशेष गरी कात्तिक महिनामा मकै, सोया, डीडीजीएस र डीओआरबीजस्ता प्रमुख कच्चा पदार्थको मूल्यमा तीव्र वृद्धि भएको देखाउँछन्।
कृषिजन्य उत्पादनको मूल्य सधैं लागतले निर्धारण गर्दैन
मकै वा भटमासजस्ता सुख्खा कृषि उपज उत्पादनको सिजनमा खरिद गरेर लामो समय भण्डारण गर्न सकिन्छ। सिजनमा मूल्य कम हुँदा उद्योग तथा व्यापारीले भण्डारण गर्ने र अफसिजनमा प्रयोग वा बिक्री गर्ने व्यावसायिक अभ्यास स्वाभाविक हो।
तर पशुपन्छी र तिनबाट उत्पादित वस्तुको प्रकृति फरक छ। मासु, अण्डा, दूध, तरकारीलगायत छिटो नष्ट हुने वस्तु लामो समयसम्म भण्डारण गर्न सकिँदैन। त्यसैले यस्ता वस्तुको मूल्यमा तत्कालीन बजारको माग र आपूर्तिको भूमिका निर्णायक हुन्छ।
कहिलेकाहीँ किसानले आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा समेत बिक्री गर्नुपर्ने अवस्था आउँछ। बजार नपाए दूध फाल्नुपर्ने, तरकारी नष्ट गर्नुपर्ने, अण्डा लागतभन्दा कम मूल्यमा बेच्नुपर्ने वा कुखुरा ठूलो घाटामा बिक्री गर्नुपर्ने अवस्था समेत आउन सक्छ।
त्यसैले दानाको लागत बढ्यो भन्दैमा किसानले अर्को दिनदेखि मासु, अण्डा वा दूधको मूल्य बढाउन सक्दैन। यहीँबाट पशुपन्छी व्यवसायको सबैभन्दा ठूलो जोखिम सुरु हुन्छ।
उत्पादन लागतको ७० देखि ८० प्रतिशत दाना
व्यावसायिक पशुपन्छी पालनमा कुल उत्पादन लागतको करिब ७० देखि ८० प्रतिशत हिस्सा दानाले ओगट्ने गर्छ। विशेष गरी कुखुरा पालनमा दाना नै सबैभन्दा ठूलो लागत हो। दानाको मूल्यमा सानो परिवर्तनले पनि किसानको उत्पादन लागतमा ठूलो प्रभाव पार्छ।
तर किसानले उत्पादन गरेको कुखुरा, अण्डा वा दूधको बिक्री मूल्य उसले आफ्नो लागतअनुसार निर्धारण गर्न सक्दैन। अन्तिम मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्छ।
यसकारण दानाको मूल्य तीव्र रूपमा बढ्दा पशुपालक दोहोरो दबाबमा पर्छन्—एकातिर उत्पादन लागत बढ्छ, अर्कोतिर उत्पादनको बजार मूल्य सोही अनुपातमा बढ्दैन। लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने किसान व्यवसायबाट पलायन हुने जोखिम बढ्छ।
एक खर्बभन्दा बढीको उद्योग जोखिममा
नेपालको पोल्ट्री उद्योगमा ठूलो आर्थिक लगानी भइसकेको छ। वित्तीय क्षेत्र, उद्योगी, किसान तथा निजी लगानीकर्ताको अर्बौं रुपैयाँ यस क्षेत्रमा जोडिएको छ।
यससँगै पशुपन्छी पालन नेपालको ग्रामीण स्वरोजगारको अत्यन्त महत्त्वपूर्ण आधार हो। कृषि पेसामा संलग्न अधिकांश किसान कुनै न कुनै रूपमा पशुपन्छी पालनसँग जोडिएका छन्। गाउँघरमा साना किसानले पाल्ने केही कुखुरा, बाख्रा वा गाईभैंसीदेखि व्यावसायिक पोल्ट्री फार्मसम्मले हजारौं परिवारको जीविका धानेका छन्।
त्यसैले दानाको मूल्यवृद्धिलाई दाना उद्योगको मात्र समस्या भनेर हेर्नु गलत हुन्छ। यो किसानको समस्या हो। यो मासु र अण्डाको मूल्यसँग जोडिएको विषय हो। यो ग्रामीण रोजगारीसँग सम्बन्धित विषय हो। अन्ततः यो खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिन्छ।
भन्सार र करको प्रभाव
विगतमा दाना उद्योगले आयात गर्ने विभिन्न कच्चा पदार्थको भन्सार दरमा वृद्धि भएको छ। केही बाइप्रोडक्टमा मूल्य अभिवृद्धि करसमेत थपिँदा दानाको उत्पादन लागत थप बढेको छ।
आयातित कच्चा पदार्थ महँगो हुँदा त्यसको असर उद्योगीमा मात्र सीमित रहँदैन। दानाको मूल्य बढ्छ र त्यो सीधा किसानको उत्पादन लागतमा जोडिन्छ।
अर्कोतर्फ, नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी अवैध आयात बढ्ने अवस्था सिर्जना भएमा कानुनी रूपमा व्यवसाय गरिरहेका उद्योग र किसान झन् समस्यामा पर्छन्। कानुनी व्यवसायले कर, भन्सार र अन्य शुल्क तिर्नुपर्ने तर चोरी पैठारी गरिएको उत्पादन सस्तो मूल्यमा बजारमा आउने अवस्था भयो भने स्वस्थ प्रतिस्पर्धा सम्भव हुँदैन। यसले राज्यको राजस्वसमेत गुमाउँछ।
प्रविधिमा हामी पछाडि छैनौं
नेपालको पोल्ट्री उद्योगमा प्रयोग हुने मेसिनरी, उत्पादन प्रविधि, दानाको गुणस्तर र चल्लाको गुणस्तर विश्वका विकसित मुलुकसँग तुलना गर्न सकिने तहमा पुगेको छ। प्रविधिको सुधारले उत्पादकत्व उल्लेखनीय रूपमा बढेको छ।
यही कारण विगतका वर्षमा दानाको मूल्य बढे पनि मासु र अण्डाको मूल्य त्यही अनुपातमा बढेको छैन। उत्पादन दक्षता बढाएर उद्योग र किसानले लागत वृद्धिको ठूलो हिस्सा आफैं व्यवस्थापन गर्दै आएका छन्।
तर यसको पनि सीमा हुन्छ। कच्चा पदार्थको मूल्य निरन्तर र अस्वाभाविक रूपमा बढिरह्यो भने प्रविधि र उत्पादकत्व वृद्धिले मात्र लागत नियन्त्रण गर्न सम्भव हुँदैन।
अक्टोबरको मूल्यवृद्धिले थप संकट
यस वर्ष अक्टोबरमा विशेष गरी मकै र भटमासको पिनामा अन्तर्राष्ट्रिय बजारमा, र मुख्य आपूर्तिकर्ता भारतमा, अप्रत्याशित मूल्यवृद्धि देखिएको छ।
दानाको उत्पादन लागतको ठूलो हिस्सा ओगट्ने मकै र भटमासको पिनाको औसत मूल्य प्रतिकिलो १२ रुपैयाँभन्दा बढी बढेको छ। यसको प्रभावले दानाको उत्पादन लागत करिब प्रतिकिलो ९ रुपैयाँसम्म बढेको अवस्था छ।
मुख्य तथा सहायक कच्चा पदार्थको मूल्य औसतमा करिब १५ प्रतिशतसम्म बढ्दा दाना उद्योगका लागि पुरानै मूल्यमा बिक्री गर्नु दीर्घकालीन रूपमा सम्भव हुँदैन। त्यसैले दानाको बिक्री मूल्यसमेत सोही अनुपातमा समायोजन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
यो मूल्यवृद्धि उद्योगीको इच्छाले सिर्जना भएको होइन। यसको मूल कारण अन्तर्राष्ट्रिय कच्चा पदार्थ बजार, आयात लागत, भन्सार, ढुवानी र आपूर्ति शृंखलामा आएको परिवर्तन हो।
दानाको आधार मूल्य किन आवश्यक?
अहिले दाना उद्योगी र किसानबीच सबैभन्दा बढी विवाद हुने विषयमध्ये एक दानाको मूल्य हो।
कच्चा पदार्थको मूल्य बढ्दा उद्योगले दानाको मूल्य बढाउँछ। किसानले त्यसलाई उद्योगीको नाफासँग जोडेर हेर्न सक्छ। अर्कोतर्फ, उद्योगीले आफ्नो वास्तविक उत्पादन लागत बढेको बताउँछ। यो अविश्वास हटाउन पारदर्शी मूल्य निर्धारण प्रणाली आवश्यक छ।
सरकार, विज्ञ, किसान र दाना उद्योगीको सहभागितामा दानाको ‘आधार मूल्य’ निर्धारण गर्ने वैज्ञानिक प्रणाली विकास गर्न सकिन्छ।
यसमा मकै, भटमासको पिना, डीडीजीएस, डीओआरबी, भिटामिन, मिनरल, ढुवानी, भन्सार, ऊर्जा तथा अन्य उत्पादन लागतको स्पष्ट सूचक बनाउन सकिन्छ।
त्यसपछि कच्चा पदार्थको मूल्य बढ्दा दानाको मूल्य निश्चित सूत्रअनुसार बढ्ने र कच्चा पदार्थ सस्तो हुँदा स्वतः घट्ने व्यवस्था गर्न सकिन्छ। यस्तो प्रणाली कार्यान्वयन भए मूल्य समायोजन व्यक्तिगत उद्योगको निर्णयभन्दा पनि पारदर्शी बजार सूत्रमा आधारित हुनेछ। यसले उद्योगीको पारदर्शिता बढाउँछ र किसानमा विश्वासको वातावरण पनि सिर्जना गर्छ।
मूल्य बढ्दा बढ्ने, घट्दा घट्ने प्रणाली
नेपालको दाना उद्योग र पशुपन्छी व्यवसायबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, परस्पर निर्भरताको हो। दाना उद्योग किसानबिना चल्न सक्दैन। किसान गुणस्तरीय र प्रतिस्पर्धी दानाबिना व्यावसायिक उत्पादन गर्न सक्दैन।
त्यसैले एउटा पक्षलाई दोष दिएर अर्को पक्ष सुरक्षित हुन सक्दैन। अहिलेको आवश्यकता दाना उद्योगको लागत संरचना पारदर्शी बनाउने, कच्चा पदार्थको आयातलाई सहज बनाउने, स्वदेशी मकै र भटमास उत्पादन बढाउने तथा किसानलाई बजार जोखिमबाट जोगाउने हो।
सबैभन्दा व्यावहारिक उपाय भनेको कच्चा पदार्थको बजार मूल्यसँग प्रत्यक्ष जोडिएको स्वचालित दाना मूल्य निर्धारण प्रणाली हो। कच्चा पदार्थ महँगो हुँदा मूल्य बढ्ने र सस्तो हुँदा घट्ने प्रणाली लागू गर्न सकिए मूल्यवृद्धिको वास्तविक कारण सबैका लागि स्पष्ट हुन्छ। यसले दाना उद्योगी र पशुपालकबीचको अनावश्यक अविश्वास पनि कम गर्छ।
दीर्घकालीन समाधान स्वदेशी उत्पादनआयातित कच्चा पदार्थमा अत्यधिक निर्भर रहँदासम्म नेपाली दाना उद्योग अन्तर्राष्ट्रिय बजारको उतारचढावबाट जोगिन सक्दैन। त्यसैले दीर्घकालीन रूपमा नेपालले मकै, भटमास तथा दाना उद्योगका अन्य कच्चा पदार्थको स्वदेशी उत्पादन बढाउने नीति लिनुपर्छ।
किसानलाई उत्पादन प्रोत्साहन, गुणस्तरीय बीउ, सिंचाइ, यान्त्रिकीकरण, उत्पादनको सुनिश्चित बजार तथा उद्योगसँग प्रत्यक्ष सम्झौता खेतीको व्यवस्था गर्न सकिन्छ। यसले एकातर्फ आयात घटाउँछ, अर्कोतर्फ नेपाली किसानका लागि नयाँ बजार सिर्जना गर्छ।
दाना उद्योगलाई चाहिने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकियो भने विदेशी मुद्रा बाहिरिने क्रम घट्नुका साथै कृषि र पशुपन्छी क्षेत्रबीच बलियो आर्थिक सम्बन्ध स्थापित हुन्छ।
अन्ततः नेपालको पोल्ट्री तथा पशुपन्छी उद्योगलाई बचाउने उपाय दानाको मूल्य कृत्रिम रूपमा रोक्नु होइन। उत्पादन लागतको वास्तविकता स्वीकार गर्दै पारदर्शी मूल्य प्रणाली निर्माण गर्नु हो।
कच्चा पदार्थ महँगिँदा दाना उद्योगलाई घाटामा बेच्न बाध्य पार्नु समाधान होइन, जसरी दाना महँगिँदा सम्पूर्ण भार किसानको काँधमा हाल्नु पनि समाधान होइन। किसान, उद्योग र उपभोक्ता—तीनै पक्ष टिक्न सक्ने मूल्य प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो।
अक्टोबरमा देखिएको करिब १५ प्रतिशतको कच्चा पदार्थ मूल्यवृद्धि एउटा चेतावनी हो। यसलाई अस्थायी समस्या भनेर बेवास्ता गर्ने होइन, दाना उद्योग र पशुपन्छी व्यवसायको दीर्घकालीन मूल्य संरचना पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्छ।
