कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालकले पाए सफाइ
ललितपुर। लिखतसम्बन्धी कीर्ते र अवैध औषधि बिक्री वितरणको आरोपमा मुद्दा खेपिरहेको कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. र यसका सञ्चालकहरूले अदालतबाट सफाइ पाएका छन्।
ललितपुर जिल्ला अदालतले कम्पनीका सञ्चालक सुना सुवेदी र हेमराज बडाललाई उनीहरूमाथि लगाइएका आरोपबाट सफाइ दिएको हो। मुद्दाको सुनुवाइका क्रममा पशुपन्छी औषधि व्यवसायी संघका पदाधिकारीसहित विभिन्न साक्षीले अदालतमा दिएको बकपत्र र पेस भएका कागजातसमेत मुद्दाको सुनुवाइका क्रममा प्रस्तुत भएका थिए।
अदालतमा भएको बकपत्रका क्रममा राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाबाट जारी हुने चलानी नम्बर २४०० र औषधि व्यवस्था विभागको अनुसूची ७ (Schedule-7) को प्रयोगसम्बन्धी प्रक्रियाबारे साक्षीहरूले आफ्नो धारणा राखेका थिए। साक्षी रवीन पुरी, विकास शर्मा तिमल्सिना, हरिबहादुर भुजेल र ईश्वरकुमार थापाले अदालतमा बकपत्र गर्दै एकपटक स्वीकृति लिइएको सिफारिसपत्रको अवधि कायम रहँदासम्म र स्वीकृत परिमाणअनुसारको आयात पूरा नभएसम्म सम्बन्धित कागजात प्रयोग गर्न सकिने बताएका थिए। उनीहरूका अनुसार उक्त प्रक्रियालाई कीर्ते भन्न मिल्ने अवस्था थिएन।
त्यस्तै, प्रतिवादी सुना सुवेदी पशुपन्छी औषधि व्यवसायी संघकी वर्तमान उपाध्यक्ष र हेमराज बडाल संघका पूर्वअध्यक्ष रहेको विषय पनि सुनुवाइका क्रममा उठाइएको थियो। साक्षीहरूले उनीहरू लामो समयदेखि व्यवसायमा संलग्न रहेको र वैधानिक रूपमा कारोबार गर्दै आएको जिकिर गरेका थिए।
मुद्दासँग सम्बन्धित अर्को पक्ष व्यावसायिक प्रतिस्पर्धा र उजुरीसँग जोडिएको थियो। बकपत्रका क्रममा केही व्यक्तिले ‘सचेत नेपाली’ लगायतका नामबाट विभिन्न सरकारी निकायमा बेनामी उजुरी दिएको र त्यसबाट कम्पनीको व्यावसायिक प्रतिष्ठामा असर परेको दाबी गरिएको थियो। प्रतिवादी पक्षका साक्षीहरूले उजुरी तथा मुद्दालाई व्यावसायिक प्रतिस्पर्धासँग जोडेर व्याख्या गरेका थिए।
यसैगरी, अनुसन्धानका क्रममा गरिएको खानतलासी र बरामद मुचुल्काबारे पनि अदालतमा प्रश्न उठाइएको थियो। प्रस्तुत विवरणअनुसार गोदामबाट प्रतिबन्धित वा अवैध औषधि बरामद भएको देखिएको थिएन। प्रतिवादी पक्षले आधिकारिक निकायबाट अनुमति लिएर नै कारोबार गर्दै आएको दाबी गरेको थियो।
अदालतले मुद्दामा प्रस्तुत कागजात, आधिकारिक कर्मचारी तथा अन्य साक्षीको बकपत्र र उपलब्ध प्रमाणको मूल्याङ्कन गर्दै सुवेदी र बडाललाई आरोपबाट सफाइ दिएको हो।
अदालतमा भएको सुनुवाइका क्रममा सरकारी पक्षका अधिकारी, प्रहरी प्रतिवेदक, पशुपन्छी औषधि व्यवसायी, भन्सार एजेन्टलगायत विभिन्न साक्षीले दिएका बकपत्र तथा बयानमा के–कस्ता तथ्य उल्लेख गरेका थिए र कसले आफ्नो प्रारम्भिक बयान परिवर्तन गरेका थिए भन्ने विषय पनि यस मुद्दामा महत्वपूर्ण देखिएको छ। उनीहरूको बयानको क्रमशः विस्तृत विवरण प्रस्तुत गरिनेछ।
