बाढीपीडितको राहतका लागि बि एण्ड बि ग्रुपद्वारा ४ लाख ४४ हजार रुपैयाँ सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बि एण्ड बि ग्रुप परिवारले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
ग्रुपअन्तर्गतका तीनवटा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। बि एण्ड बि फ्रेश हाउस प्रालिले २ लाख २२ हजार २ सय २२ रुपैयाँ, के.नेट फिड इन्डस्ट्री प्रालिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सन फुड नेपाल प्रालिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बि एण्ड बि ग्रुपले जनाएको छ।
ग्रुपले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
साथै, विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई सक्दो सहयोग गर्न ग्रुपले आग्रह गरेको छ।
