डिडिसी र नेपाली सेनाबीच सम्झौता, दैनिक १० हजार लिटर दूध खपत हुने
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) र नेपाली सेनाबीच दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध खपत गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाली सेनाका ३२ जिल्लामा रहेका ब्यारेकमा डिडिसीको प्रशोधित दूध आपूर्ति हुने भएको छ। सम्झौताले डिडिसीको उत्पादनको बजार सुनिश्चित हुनुका साथै किसानबाट आगामी दिनमा थप दूध संकलन गर्ने आधारसमेत तयार भएको जनाइएको छ।
दूधसँगै नेपाली सेनाले दैनिक ३६५ लिटर दही, ३७ किलो पनिर र १५ किलो चिजसमेत डिडिसीबाट खरिद गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
डिडिसीका उत्पादनको ठूलो परिमाणमा नियमित खपत हुने गरी भएको सम्झौताले संस्थानको बिक्री विस्तारसँगै दुग्ध किसानबाट दूध संकलन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाली सेनाका विभिन्न ब्यारेकमा नियमित रूपमा डिडिसीका दुग्धजन्य उत्पादन उपलब्ध हुने भएका छन्।
