भेटेरिनरी प्रिमियर लिगको उपाधि एयर इगललाई

बारा । भेटेरिनरी समुदायबीच एकता, भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित भेटेरिनरी प्रिमियर लिग (भीपीएल) सिजन–४ को उपाधि एयर इगलले जितेको छ। फाइनलमा भेट किङलाई ९ विकेटले पराजित गर्दै एयर इगल च्याम्पियन बनेको हो।

वि.सं. २०८० मा सानो खेलकुद गतिविधिका रूपमा सुरु भएको भीपीएल अहिले भेटेरिनरी समुदायलाई एउटै मञ्चमा जोड्ने महत्त्वपूर्ण खेलकुद प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको आयोजकले जनाएको छ। प्रतियोगिताले पशु स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच आपसी सम्बन्ध, सहकार्य र एकता सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएको छ।

नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए), मधेश प्रदेश, नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, वीरगञ्ज शाखा, एभीपी, पर्सा र आरभीपी, रौतहटको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा एयर इगल, स्टेलियन किङ, भेट किङ र किङ कोब्रा गरी चार टोली सहभागी थिए।

प्रतियोगिताको पहिलो खेलमा एयर इगलले स्टेलियन किङलाई २५ रनले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको एयर इगलले १०२ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको स्टेलियन किङले सबै विकेट गुमाएपछि एयर इगल विजयी भएको थियो।

दोस्रो खेलमा भेट किङले किङ कोब्रालाई ३० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिले ब्याटिङ गरेको भेट किङले १२७ रनको लक्ष्य दिएकोमा जवाफी ब्याटिङ गरेको किङ कोब्रा सबै विकेट गुमाएर पराजित भएको थियो।

मौसमको प्रतिकूलता र समय व्यवस्थापनका कारण पहिलो दुई खेल १५ ओभरको सट्टा १२ ओभरमा सञ्चालन गरिएको थियो। फाइनल खेल भने १०–१० ओभरको खेलाइएको थियो। फाइनलमा पहिले ब्याटिङ गरेको भेट किङले ६ विकेट गुमाएर ५५ रन बनाएको थियो। जवाफमा एयर इगलले एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि ९ विकेटको जितसहित उपाधि जित्न सफल भयो।

एयर इगलका कप्तान सन्तोष दाहाल, स्टेलियन किङका कप्तान डा. हरेराम यादव, भेट किङका कप्तान ब्रिजेश साह र किङ कोब्राका कप्तान अनिल पटेलले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए।

भीपीएल सिजन–४ का संयोजक तथा एनभीए मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारीले प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई भेटेरिनरी समुदायको साझा पहिचान र एकताको प्रतीकका रूपमा विकास हुँदै गएको बताए। विभिन्न संस्था र क्षेत्रका पशु स्वास्थ्यकर्मीलाई एउटै मञ्चमा जोड्नु प्रतियोगिताको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। उनले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

त्यसैगरी, आयोजक समितिका सदस्य सचिव डा. सुदिप कुमार शर्माले भीपीएलले पेशागत व्यस्तताबीच भेटेरिनरी क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई भेटघाट, अनुभव आदानप्रदान र स्वस्थ प्रतिस्पर्धाको अवसर प्रदान गरेको बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने आयोजक संस्था, खेलाडी, अतिथि र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी संस्करणमा अझ व्यापक सहभागिताको अपेक्षा गरे।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले यस्ता गतिविधिले भेटेरिनरी समुदायबीच सद्भाव, सहकार्य र अनुशासनको भावना विकास गर्न सहयोग पुर्‍याउने बताए। पशुपन्छीको स्वास्थ्य, कृषि तथा पशुपालन क्षेत्रको विकासमा भेटेरिनरी जनशक्तिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पेशाकर्मीबीचको एकता र समन्वयले सेवा क्षेत्रलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जय यादवले भेटेरिनरी क्षेत्र पशुपन्छीको स्वास्थ्य, पशुजन्य उत्पादन, खाद्य सुरक्षा र कृषि अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। पेशागत जिम्मेवारीसँगै आपसी सम्बन्ध र सहकार्यलाई बलियो बनाउने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थप्ने उनको भनाइ थियो।

कार्यक्रममा पशु सेवा तालिम केन्द्र, मधेश प्रदेशका प्रमुख तथा एनभीए मधेश प्रदेशका पूर्वअध्यक्ष डा. सञ्जीव ठाकुर, पर्सौनी गाउँपालिकाकी उपाध्यक्ष किरण साह, गाउँपालिकाका वडा नं. १ र २ का वडाध्यक्ष, एनभीएका सल्लाहकार डा. विनोद यादव र नारायण गुरुङ, अमन गुरुवाचार्यलगायतको उपस्थिति थियो।

कार्यक्रममा आरभीपी, रौतहटका अध्यक्ष ओमप्रकाश मुलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन आयोजक समितिका सदस्य सचिव डा. सुदिप शर्माले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *