अवैध पोल्ट्री आयात रोक्न सीमा क्षेत्रमा निगरानी बढाउँदै ह्याचरी उद्योग संघ

नेपालगन्ज । भारतीय सीमा नाकाबाट अवैध रूपमा भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघले सीमा क्षेत्रका सुरक्षा निकायसँगको समन्वय र अनुगमनलाई तीव्रता दिएको छ।

संघले नवलपरासी र रुपन्देहीबाट सुरु गरेको अभियानलाई पछिल्लो समय बाँकेसम्म विस्तार गरेको हो। अभियानअन्तर्गत बुधबार असोज २१ गते संघको प्रतिनिधिमण्डलले सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी, बाँके, नेपालगन्जका प्रमुख तथा बीओपी खडैचाका प्रमुखसँग भेटघाट गरी सीमा क्षेत्रमा हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणबारे छलफल गरेको छ।

संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सहभागी प्रतिनिधिमण्डलले सीमा क्षेत्रमा अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायको भूमिका र व्यवसायीबीचको समन्वयका विषयमा छलफल गरेको हो।

भेटका क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले अवैध आयात नियन्त्रणका लागि आवश्यक निगरानी र कारबाहीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ। सीमा क्षेत्रमा अवैध रूपमा हुने पोल्ट्रीजन्य वस्तुको ओसारपसार रोक्न सुरक्षा निकायसँग नियमित समन्वय गर्ने संघले जनाएको छ।

संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार प्रतिनिधिमण्डलले बुधबार नै दाङका पोल्ट्री व्यवसायीसँग छलफल गर्ने कार्यक्रम राखेको छ। त्यसैगरी कपिलवस्तुमा प्रहरी नायव महानिरीक्षकसँग भेट गरी सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

संघले भारतीय सीमा नाकाबाट हुने अवैध आयातलाई नेपालको पोल्ट्री व्यवसायको प्रमुख चुनौतीका रूपमा लिएको छ। अवैध रूपमा चल्ला, कुखुरा, मासु तथा अण्डा भित्रिँदा पशुपन्छीमा रोग प्रवेश तथा फैलावटको जोखिम बढ्ने संघको भनाइ छ। त्यस्तै, भन्सार प्रणालीबाहिरबाट वस्तु भित्रिँदा राज्यको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने संघले जनाएको छ।

पोल्ट्री व्यवसायमा रोगको जोखिम न्यूनीकरण, स्वदेशी उत्पादनको संरक्षण र राजस्व चुहावट नियन्त्रणका लागि सीमा नाकामा निगरानी बढाउनुपर्ने माग गर्दै संघले सुरक्षा निकायसँगको भेटघाटलाई निरन्तरता दिएको हो। संघले आगामी दिनमा भारतीय सीमा जोडिएका अन्य जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय र छलफल गर्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *