भेटेरिनरी प्रिमियर लिगको चौथो संस्करण पर्सौनीमा
बारा । पशु चिकित्सक तथा भेटेरिनरी पेशासँग आबद्ध व्यक्तिहरूबीच पेशागत एकता, आपसी भाइचारा र खेलकुद भावनाको विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको भेटेरिनरी प्रिमियर लिग (भीपीएल) को चौथो संस्करण आगामी असोज २४ गते बाराको पर्सौनी गाउँपालिकास्थित चटिया बाबा मठ खेल मैदानमा हुने भएको छ।
२०८० सालमा सुरु भएको प्रतियोगिता चौथो संस्करणसम्म आइपुगेको हो। भेटेरिनरी क्षेत्रका पेशाकर्मी सहभागी हुने प्रतियोगिताले खेलकुदसँगै उनीहरूबीचको आत्मीयता, सहकार्य र एकतालाई बलियो बनाउँदै आएको आयोजकले जनाएको छ।

नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेश , नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा,नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, वीरगञ्ज शाखा, ए.भी.पी., पर्सा तथा रिजनल भेटेरिनरी प्रोफेसनल्स (आरभीपी) रौतहटको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा एयर इगल, किङ कोब्रा, स्टालियन किङ र भेट किङ गरी चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद पटेल प्रमुख अतिथि तथा मधेश प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सचिव डा. सञ्जय यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा भेटेरिनरी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेशका अध्यक्ष तथा वरिष्ठ पशु चिकित्सक डा. दिनेश कुमार तिवारीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। समितिमा अनिल कुमार पटेल, सन्तोष दाहाल, छत्रबहादुर शाह र ओमप्रकाश मूल सदस्य तथा डा. सुदीप कुमार शर्मा सदस्य–सचिव रहेका छन्।

आयोजक समितिका सदस्य–सचिव डा. सुदीप कुमार शर्माले ‘खेल मैदानमा प्रतिस्पर्धा, पेशामा एकता र सम्बन्धमा आत्मीयता’ भन्ने भावनाका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनका अनुसार प्रतियोगिताले भेटेरिनरी पेशासँग आबद्ध व्यक्तिलाई एउटै मैदानमा जोड्नुका साथै खेलकुदमार्फत पेशागत सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्नेछ।
आयोजकले प्रतियोगितामा सहभागी हुन तथा खेलाडीको उत्साह बढाउन भेटेरिनरी समुदाय, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र खेलप्रेमीलाई चटिया बाबा मठ खेल मैदानमा उपस्थित हुन आग्रह गरेको छ।
