विश्व अण्डा दिवसमा चितवनमा ‘जुम्बा डान्स’ र ‘एग वाक’
चितवन । विश्व अण्डा दिवसको अवसरमा चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एग वाक’ कार्यक्रम आयोजना गरिएको छ।
नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरी दिवसको शुभारम्भ गरिएको थियो। सो अवसरमा सहभागीले डिजे म्युजिकको तालमा नृत्य प्रस्तुत गरेका थिए।
एग वाक कार्यक्रमको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए। त्यसपछि सहभागीले सङ्गीतको तालमा नाच्दै एग वाक गरेका थिए।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार एग वाक उद्योग संघको परिसरबाट अस्पताल रोड, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, पुनः चौबीसकोठी र एयरपोर्ट चोक हुँदै संघको परिसरमा पुगेर समापन गरिएको थियो।
कार्यक्रममा सहभागीले मानव स्वास्थ्यमा अण्डाको महत्त्व दर्शाउने झाँकीसमेत प्रस्तुत गरेका थिए। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
अण्डा सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सा हो। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।
सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ। नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
