बाढीपीडितका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को १ लाख २ हजार सहयोग, उपचार टोली खटाइने
काठमाडौँ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
परिषद्का रजिष्ट्रार जनकबहादुर रावलका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
परिषद्ले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि प्राविधिक टोलीसमेत खटाउने निर्णय गरेको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको टोली बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लातर्फ प्रस्थान गर्ने तयारीमा रहेको परिषद्ले जनाएको छ।
बाढीका कारण ती क्षेत्रमा ठूलो सङ्ख्यामा पशुचौपाया प्रभावित हुनुका साथै पशुपन्छीको बासस्थान, आहार तथा प्राथमिक स्वास्थ्य सेवामा समेत समस्या उत्पन्न भएको परिषद्को भनाइ छ।
फिल्डमा खटिने टोलीले घाइते तथा बिरामी पशुपन्छीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गर्नेछ। साथै, प्रभावित क्षेत्रमा पशु स्वास्थ्यसम्बन्धी आवश्यक प्राविधिक सेवा र परामर्शसमेत उपलब्ध गराइने परिषद्ले जनाएको छ।
विपद्को यस विषम परिस्थितिमा राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै पशुपन्छीको स्वास्थ्य रक्षा तथा सम्भावित रोगको जोखिम न्यूनीकरणलाई समेत राहत र पुनःस्थापनाको अभिन्न हिस्साका रूपमा अघि बढाउनुपर्ने परिषद्ले जनाएको छ।
