बाढी–पहिरोको असर : दाना आपूर्ति रोकियो, मासु–अण्डा–दूधको निकासी ठप्प

काठमाडौं । सीमापारि चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढी तथा त्यससँगै गएको पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको नेपाल दाना उद्योग संघले जनाएको छ। बाढी तथा पहिरोका कारण सडक सञ्जालमा क्षति पुग्दा पशुपन्छीका लागि आवश्यक दानाको आपूर्ति प्रभावित हुनुका साथै प्रभावित क्षेत्रबाट मासु, अण्डा र दूधजस्ता छिट्टै नष्ट हुने वस्तुको निकासीसमेत ठप्प भएको संघले जनाएको छ।

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाद्वारा  भदौ १२ गते जारी विज्ञप्तिअनुसार अविरल बाढी तथा पहिरोका कारण २४ वटा पक्की पुल र २ वटा बेलीब्रिज पूर्ण रूपमा भत्किएका छन्। सडक तथा पुलमा पुगेको क्षतिका कारण यातायात, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवा प्रभावित भएको संघले जनाएको छ।

मुख्य सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा दैनिक उपभोग्य खाद्यान्नसँगै पशुपन्छीका लागि आवश्यक दाना तथा अन्य अत्यावश्यक सामग्रीको नियमित आपूर्ति गर्न कठिनाइ भइरहेको संघको भनाइ छ। दाना आपूर्ति प्रभावित हुँदा पोल्ट्री तथा पशुपालन क्षेत्रमा उत्पादन निरन्तरता कायम राख्नसमेत चुनौती थपिएको संघले जनाएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा उत्पादन हुने मासु, अण्डा र दूधजस्ता छिट्टै नष्ट हुने वस्तुको बजारसम्म निकासी रोकिँदा किसान तथा व्यवसायीले ठूलो व्यावसायिक क्षति व्यहोर्नुपरेको संघले जनाएको छ।

संघले नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अवरुद्ध सडक तथा पुलको तत्काल मर्मत तथा पुनर्निर्माण गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

बाढी प्रभावित क्षेत्रका किसान, उद्योगी तथा पशुपन्छी क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्नसमेत संघले सरकारसँग आग्रह गरेको छ। साथै, संघले आफ्ना सम्पूर्ण सदस्य उद्योगलाई बाढी–पहिरो प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *