बाढीपीडितलाई लेयर्स संघको १०, तिलिचो ट्रेडिङको २ लाख सहयोग

चितवन, ११ भदौ । नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख सहयोग गरेको छ। रसुवा बाढी प्रभावितका लागि राहतस्वरूप संघले कोषमा सहयोग गरेको हो।

संघका अध्यक्ष विनोद पोखरेलले रसुवामा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले रु. १० लाख सहयोग गरेको बताउनुभयो। बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”

संघले भूकम्प लगायतका प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको चर्चा गर्दै अध्यक्ष पोखरेलले व्यवसायसँगै राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि संघले सहयोग गरेको बताउनुभयो।

यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि तिलिचो ट्रेडिङ प्राइभेट लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गरिएको छ। व्यावसायिक कारोबारभन्दा माथि उठेर सङ्कटको समयमा समाज र समुदायलाई सहयोग गर्नु व्यवसायको दायित्व रहेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य तथा दिगो विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *