बाढी प्रभावित पशुपन्छीको उपचारमा खटिन पशु चिकित्सकलाई परिषद्को आह्वान

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको तत्काल उद्धार, उपचार तथा पुनःस्थापनाका लागि सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूलाई उच्च व्यावसायिक उत्तरदायित्वबोधका साथ खटिन आह्वान गरेको छ।

परिषद्का अध्यक्ष डा. हेमराज अवस्थीद्वारा जारी अपिलअनुसार भदौ १० गते रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा आएको बाढी तथा पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरिएको छ। परिषद्ले प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोजी र सकुशल उद्धारका लागि सम्पूर्ण सरोकारवालाहरूमा अपिल गरेको छ।

प्रभावित क्षेत्रहरूमा ठूलो संख्यामा व्यावसायिक पशुपन्छीपालन तथा मत्स्यपालन हुँदै आएकाले बाढी र पहिरोका कारण यस क्षेत्रमा गम्भीर क्षति पुगेको आकलन गरिएको छ।

परिषद्ले यो सङ्कटको घडीमा प्रभावित क्षेत्रका पशुपन्छीको उपचार तथा पुनःस्थापनाका लागि आवश्यक प्राविधिक, औषधिजन्य, आर्थिक तथा अन्य जुनसुकै सहयोग उपलब्ध गराउन सम्पूर्ण सरोकारवाला, संघ-संस्था तथा निकायहरूलाई हार्दिक अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *