भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पशु चिकित्सकको टोली खटाइयो, राहत तथा उद्धारमा समन्वय तीव्र

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी नदीको बाढीले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि नेपाल भेटेरिनरी एसोसिएसनले प्रभावित क्षेत्रमा पशु चिकित्सकको टोली खटाएको छ। एसोसिएसनले उद्धार तथा उपचार कार्यमा सहभागी हुन इच्छुक स्वयंसेवक पशु चिकित्सकलाई आह्वान गर्दै उनीहरूको यातायात, खाना तथा बसोबासलगायत आवश्यक खर्चसमेत व्यहोर्ने जनाएको छ।

एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार तथा रोग रोकथामका लागि डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल, डा. निशान शर्मा, डा. केशव खरेल र डा. प्रवेश शर्मा सम्मिलित पशु चिकित्सकको टोली खटाइसकिएको छ।

खटिएको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा भएको क्षतिको अवस्था र तत्काल आवश्यकताको पहिचान गर्नेछ। टोलीको प्रतिवेदनका आधारमा आवश्यक थप प्राविधिक जनशक्ति तथा सामग्री प्रभावित क्षेत्रमा पठाउन समन्वय गरिने अध्यक्ष सुवेदीले बताउनुभयो।

फिल्डमा खटिन इच्छुक स्वयंसेवक पशु चिकित्सकको यातायात, खाना तथा बसोबासलगायत आवश्यक सम्पूर्ण खर्च एसोसिएसनले व्यहोर्ने उहाँले जानकारी दिनुभयो।

यसैबीच, प्रभावित क्षेत्रमा आवश्यक प्राथमिक उपचारका औषधी तथा अन्य सामग्री कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालिले उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले बताउनुभयो।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बाढी प्रभावित क्षेत्रमा विभाग कसरी परिचालन हुने भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वयात्मक छलफल भइरहेको बताउनुभएको छ। उहाँले विपद्को अवस्थालाई ध्यानमा राख्दै विभागले तदारुकताका साथ काम अघि बढाएको जानकारी दिनुभयो।

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेश सापकोटाले विषम परिस्थितिमा दाना उद्योग क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो। उहाँले आवश्यक निर्णयपछि संघको तर्फबाट गरिने सहयोगबारे छिट्टै जानकारी गराइने बताउनुभयो।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले संघमा आबद्ध व्यवसायी तथा संस्थामा बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो। क्षतिको यथार्थ विवरण प्राप्त भएपछि प्रभावितहरूका लागि राहत तथा अन्य आवश्यक सहयोगका कार्यक्रम अघि बढाइने उहाँले जानकारी दिनुभयो।

यसैगरी, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र एनिमल नेपालले पनि आफ्ना शाखामार्फत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा औषधी वितरणका लागि स्थानीय प्रशासन र पशु सेवा अस्पतालसँग समन्वय गरी काम गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *