बाढीबाट पशुपन्छी लगायत क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न रेपिड एक्शन टीम परिचालन
काठमाडौं । बाढीका कारण पशुपन्छी, कृषि, वन तथा वन्यजन्तु क्षेत्रमा भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्बन्धित निकायलाई रेपिड एक्शन टीम गठन गरी परिचालन गर्न निर्देशन दिनुभएको छ।
मन्त्री चौधरीले मन्त्रालयअन्तर्गतका विभाग तथा निकायलाई आ–आफ्नो क्षेत्राधिकारभित्र स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गर्न निर्देशन दिनुभएको हो। संकलित विवरणका आधारमा उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रीको निर्देशनअनुसार गठित रेपिड एक्शन टीममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरि बहादुर के.सी., वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. बरुण कुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल रहनुभएको छ।
टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र र तत्काल आवश्यकतासम्बन्धी विवरण संकलन गर्नेछ। त्यसका आधारमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
