मंसिरदेखि पशु बधशाला र मासु जाँच ऐन लागू, पहिलो चरणमा काठमाडौं उपत्यका

काठमाडौं। सरकारले पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयन हुने क्षेत्र र मिति तोकेको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले ऐनलाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेपछि मन्त्रालयले नेपाल राजपत्र, खण्ड ७६, काठमाडौं, भदौ १ गते, २०८३ साल, संख्या २७ मा सूचना प्रकाशित गरेको हो।

राजपत्रमा प्रकाशित सूचनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहमा २०८३ साल मंसिर १ गतेदेखि पशु बधशाला र मासु जाँच ऐन प्रारम्भ हुनेछ।

त्यसैगरी, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेकका अन्य जिल्लाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा २०८३ साल माघ १ गतेदेखि ऐन लागू हुनेछ।

त्यस्तै, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेकका अन्य जिल्लाका गाउँपालिकामा २०८४ साल साउन १ गतेदेखि ऐन कार्यान्वयनमा आउनेछ।

नेपाल सरकारले पशु बधशाला र मासु जाँच ऐन, २०५५ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी ऐन देहायका क्षेत्रमा देहायको मितिदेखि प्रारम्भ हुने गरी तोकेको राजपत्रको सूचनामा उल्लेख छ।

ऐन कार्यान्वयनमा आएपछि पशु बधशाला सञ्चालन तथा मासु जाँचसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू हुने अपेक्षा गरिएको छ। यसले पशु बध गर्ने स्थानको व्यवस्थापन, बधपूर्व तथा बधपश्चात् पशु स्वास्थ्य परीक्षण, मासुको स्वच्छता तथा गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न आधार तयार गर्नेछ।

विशेषगरी पशु बधशाला तथा मासु जाँचमा पशु चिकित्सकीय परीक्षण र निरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ। ऐनको कार्यान्वयनसँगै आवश्यक बधशाला पूर्वाधार, प्राविधिक जनशक्ति, नियमित अनुगमन तथा स्थानीय तह र पशु सेवा निकायबीचको समन्वयलाई समेत प्राथमिकता दिनुपर्नेछ।

अस्वस्थ पशुको बध तथा अस्वच्छ मासुको बिक्री–वितरण नियन्त्रण गर्दै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले ऐनको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण मानिएको छ।

मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनामार्फत तोकेको उक्त समयतालिकाअनुसार अब पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहबाट ऐन कार्यान्वयन सुरु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *