पोल्ट्री क्षेत्रका समस्या समाधान गर्न कृषि मन्त्रीसँग लेयर्स संघको छलफल
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समसामयिक समस्या तथा व्यवसाय प्रवर्द्धनका विषयमा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग छलफल गरेको छ।
संघको प्रतिनिधिमण्डलले बुधबार मन्त्रालयमा मन्त्री चौधरीसँग भेट गरी पोल्ट्री क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी, पोषण तथा आत्मनिर्भरतामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउँदै व्यवसायले भोगिरहेका प्रमुख समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
भेटमा संघले पोल्ट्री व्यवसाय आत्मनिर्भर क्षेत्रका रूपमा विकास हुँदै आएको, स्वदेशी पुँजी परिचालन तथा रोजगारी सिर्जनामा योगदान पुर्याएको र सर्वसाधारणको पोषण सुरक्षामा समेत महत्वपूर्ण भूमिका खेलेको जनाएको थियो।
संघले पोल्ट्री उद्योगमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा खुला सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयातलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो।
विशेषगरी अवैध रूपमा आयात हुने अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी कुखुराको मासुका कारण स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित भइरहेको भन्दै संघले यसको प्रभावकारी नियन्त्रणका लागि तत्काल पहल गर्न मन्त्रीसँग आग्रह गरेको थियो।
छलफलका क्रममा मन्त्री चौधरीले संघले उठाएका विषयप्रति सकारात्मक धारणा व्यक्त गर्दै पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाउने विषयमा पहल गर्ने तथा खुला सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रणका लागि तत्काल कदम चाल्ने आश्वासन मन्त्रीले दिएको संघले जनाएको छ।
संघका अनुसार मन्त्रीसँगको छलफल प्रभावकारी रहेको र उठाइएका विषयलाई कार्यान्वयनमा लैजान तत्कालै पहल गर्ने प्रतिबद्धता प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको समन्वयमा भएको भेटघाटमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिलकुमार शाक्य तथा व्यवसायी राजन पियाको सहभागिता थियो।
