अनधिकृत भेटेरिनरी सेवा गर्ने तीन जनाविरुद्ध कारबाही सिफारिस

काठमाडौं | नेपाल पशु चिकित्सा परिषद्ले अनधिकृत रूपमा पशुमा शल्यक्रिया गर्ने तथा भेटेरिनरी प्रमाणपत्र जारी गर्ने तीन फरक घटनामा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। परिषद्ले दुवै प्रकारका कार्य नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ तथा मुलुकी अपराध संहिता, २०७४ विपरीत रहेको जनाएको छ।

परिषद्का रजिष्ट्रार डा. चन्दा श्रेष्ठद्वारा २०८३ असार १६ गते जारी तीन छुट्टाछुट्टै सूचनाअनुसार मोरङको लेटाङ नगरपालिका निवासी लेखनाथ भट्टराई नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका पशु चिकित्सक होइनन्। उनले बिरालोको शल्यक्रिया गरेको भिडियो आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि परिषद्ले त्यसको अध्ययन गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। परिषद्को २०८३ असार १० गते बसेको बैठकले उक्त घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायलाई कानुनबमोजिम कारबाही गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

परिषद्ले सार्वजनिक गरेको सूचनाअनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सम्बन्धित व्यक्तिले बिरालोको शल्यक्रिया गरेपछि, “कुकुर अनि बिरालोको जनसङ्ख्या धेरै भयो। यो पोथी बिरालो हो। यसको पाठेघर निकालेर फालिदियौँ। तपाईंहरूले पनि यस्तो गर्नुपरे सम्पर्क गर्नुहोस्,” भन्ने आशयको अभिव्यक्ति दिएका छन्। परिषद्का अनुसार यस्ता गतिविधि तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसारले गैरकानुनी रूपमा पशुमा शल्यक्रिया गर्ने कार्यलाई प्रोत्साहन पुग्ने जोखिम रहेको छ।

यस्तै, बिमल ढकाल नामका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेको अर्को भिडियोमा एक व्यक्तिले कुकुरलाई पूर्ण रूपमा बेहोस नपारी चारै खुट्टा बाँधेर अत्यन्त असावधानीपूर्वक शल्यक्रिया गरेको देखिएको परिषद्ले जनाएको छ। परिषद्का अनुसार उक्त कार्यले पशुलाई अत्यधिक पीडा दिएको तथा पशु कल्याणको गम्भीर उल्लङ्घन गरेको देखिएको छ। भिडियोमा देखिएका व्यक्ति पनि परिषद्मा दर्ता भएका पशु चिकित्सक नभएको उल्लेख गर्दै परिषद्ले उनीविरुद्ध समेत कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको छ।

 

 

यसैगरी, परिषद्ले कालिका गाउँपालिकामा कार्यरत सहायक पशु विकास अधिकृत बुद्धिनाथ न्यौपानेले २०८३ जेठ ३ गते अधिकारबाहिर गई भेटेरिनरी प्रमाणपत्र जारी गरेको विषयमा पनि कारबाही सिफारिस गरेको छ। परिषद्का अनुसार उक्त प्रमाणपत्रमा महामारी रोग नियन्त्रण तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा पशु रोगमुक्त रहेको प्रमाणित गरिएको थियो।

परिषद्ले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, नियमावली तथा नेपाल पशु चिकित्सा परिषद् ऐनबमोजिम सहायक पशु विकास अधिकृतलाई भेटेरिनरी प्रमाणपत्र जारी गर्ने अधिकार नभएको स्पष्ट पारेको छ। घटनाबारे अनुसन्धानपछि परिषद्को असार १० गते बसेको बैठकले न्यौपानेलाई सम्बन्धित निकायमार्फत कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

परिषद्ले पछिल्लो समय आफूलाई पशु चिकित्सक वा भेटेरिनरियनका रूपमा प्रस्तुत गर्दै दर्ताबिनै पशुको उपचार, शल्यक्रिया तथा अन्य विशिष्टीकृत भेटेरिनरी सेवा प्रदान गर्ने तथा अधिकारबाहिर गई भेटेरिनरी प्रमाणपत्र जारी गर्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस्ता कार्यले पशु स्वास्थ्य, पशु कल्याण, रोग नियन्त्रण तथा जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले परिषद्मा विधिवत् दर्ता भएका योग्य पशु चिकित्सकबाट मात्र उपचार, शल्यक्रिया तथा भेटेरिनरी प्रमाणपत्र लिन सबै पशुपालक तथा सरोकारवालासँग आग्रह गरेको छ।

साथै, दर्ता नभएका व्यक्तिले आफूलाई पशु चिकित्सक भन्दै उपचार, शल्यक्रिया वा अन्य भेटेरिनरी सेवा दिएको वा अधिकारबाहिर गई भेटेरिनरी प्रमाणपत्र जारी गरेको प्रमाण भेटिएमा प्रमाणसहित नेपाल पशु चिकित्सा परिषद्को आधिकारिक इमेल वा फेसबुक पेजमार्फत उजुरी दिन पनि परिषद्ले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *