पशुपालन क्षेत्रमा डिजिटल प्रणाली, खोप र बीमामा सरकारको जोड
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पशुपालन तथा पशुपन्छी स्वास्थ्य क्षेत्रलाई आधुनिक, डिजिटल र व्यावसायिक बनाउने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पशु स्वास्थ्य सेवा सुदृढीकरण, महामारी नियन्त्रण, पशुधन बीमा र कृषकको संरक्षणलाई प्राथमिकतामा राखिएको हो ।
सरकारले पशुमा फैलिने खोरेतलगायत संक्रामक रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अभियानमुखी खोप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । पशुपन्छीमा हुने महामारीका कारण किसानले व्यहोर्नुपर्ने आर्थिक क्षति न्यूनीकरण गर्न नियमित खोप, निगरानी र स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ । उत्पादनदेखि उपभोगसम्मको खाद्य प्रणालीलाई सुरक्षित र उत्थानशील बनाउन पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा पशुधन बीमा प्रणालीलाई डिजिटल माध्यममा आबद्ध गर्ने योजना पनि अघि सारिएको छ । बीमा लेख जारी गर्ने, प्रिमियम अनुदान भुक्तानी गर्ने र क्षतिपूर्ति दाबी गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख छ । सरकारले साना किसानसम्म पशुधन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
चरण क्षेत्र विकास तथा वन स्रोतको वैज्ञानिक उपयोगमार्फत पशुपालन प्रवर्द्धन गर्ने नीति पनि सरकारले अघि सारेको छ । पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन आधुनिक प्रविधि तथा स्वास्थ्य सेवालाई मुख्य आधार बनाइने जनाइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पशुपालन तथा कृषि उद्यममा आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने भएको छ । कृषि र पशुपालनलाई उद्योग, प्रशोधन तथा बजारसँग जोडेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको लक्ष्य रहेको छ । पशुपालनलाई सम्मानित र आम्दानीमुखी उद्यमका रूपमा स्थापित गर्न निजी तथा बहुपक्षीय लगानीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, पशुजन्य तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरिने सरकारको योजना छ । समर्थन मूल्यबापतको रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था गरिने जनाइएको छ । यसबाट बिचौलियाको प्रभाव घट्ने र वास्तविक किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सरकारले परम्परागत पशुपालन प्रणालीलाई क्रमशः प्रविधिमैत्री र व्यवसायिक मोडेलमा रूपान्तरण गर्दै डिजिटल प्रशासन, आधुनिक पशु स्वास्थ्य सेवा र एग्रिटेकमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको देखिएको छ।
