डीडीसीसहित राष्ट्रिय संस्थानमा सुधारको संकेत : प्रधानमन्त्री

काठमाडौं । लामो समयदेखि आर्थिक तथा व्यवस्थापकीय समस्यासँग जुधिरहेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको बक्यौता भुक्तानीदेखि दूध तथा दुग्धजन्य पदार्थको बिक्री वृद्धिसम्मका सुधारलाई प्रमुखताका साथ उल्लेख गरेका छन्।

डीडीसीले रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिएर भुक्तानी चक्र छोट्याएको प्रधानमन्त्री शाहले बताएका छन्। विगतमा करिब आठ महिनासम्म रहेको करिब ७२ करोड रुपैयाँको भुक्तानी चक्रलाई अहिले दुईदेखि तीन महिनामा झार्दै करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको उनको भनाइ छ। त्यस्तै, किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक दूध बिक्रीमा ३५ प्रतिशतले वृद्धि भएको र औसत दैनिक राजस्व संकलन ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

डीडीसीको खर्च व्यवस्थापनमा समेत सुधार गरिएको जनाइएको छ। कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण हुँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गरी वार्षिक झण्डै तीन करोड रुपैयाँ बचत गरिएको छ। आगामी दिनमा डीडीसीका दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने तयारीसमेत अघि बढाइएको छ। खाडी मुलुकमा घ्यू, चीनमा बटर तथा छुर्पी निर्यात गर्ने तयारी भइरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

औषधि लिमिटेडमा नाफा र उत्पादन विस्तार

प्रधानमन्त्री शाहले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडमा समेत सुधार आएको दाबी गरेका छन्। उनका अनुसार पछिल्लो चार महिनामा लिमिटेडले दुई करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ।

विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले तीन करोड रुपैयाँ नाफा आर्जन गरेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी पनि अघि बढेको प्रधानमन्त्री शाहले बताएका छन्। उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको जनाइएको छ। परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

नेपाल एयरलाइन्सको आम्दानी र अकुपेन्सीमा वृद्धि

नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्री शाहले बताएका छन्।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ६ प्रतिशत बढी हो।

जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको एक अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

वैद्यखानामा उत्पादन र कारोबार विस्तार

सरकार गठनपछि सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको प्रधानमन्त्री शाहले बताएका छन्।

गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको दाबी गरिएको छ।

हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशामा अघि बढेको जनाइएको छ। वैद्यखानाबाट हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।

चालु आर्थिक वर्षमा पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने, जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्नेलगायतका लक्ष्यसमेत अघि सारिएको छ।

प्रधानमन्त्री शाहले नियत सफा, जिम्मेवारीप्रति इमान्दारिता र निरन्तरको ‘टिमवर्क’ भए चुनौतीपूर्ण अवस्थामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानलाई समेत पुनः प्रतिस्पर्धी बनाउन सकिने बताएका छन्।

सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिने प्रयासलाई निरन्तरता दिने जनाउँदै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *