नेपाल र स्पेनबीच कृषि आधुनिकीकरण र प्रविधि आदानप्रदानमा सहकार्य हुने
काठमाडौँ– नेपाल र स्पेनबीच कृषि क्षेत्रको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा जलवायु अनुकूलनका क्षेत्रमा द्विपक्षीय सहकार्य परिपक्व बनाउने विषयमा गहन छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरी र नेपालका लागि स्पेनका गैर-आवासीय राजदूत महामहिम जुआन एन्टोनियो मार्च पुजोल (H.E. Mr. Juan Antonio March Pujol) बीच मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा दुई देशबीचको कृषि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त भएको हो।
मन्त्रालयमा भएको उक्त उच्चस्तरीय भेटघाटमा मुख्य गरी कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेशन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा प्रविधि आदानप्रदानका विविध प्राविधिक विषयमा विस्तृत छलफल भएको थियो।
भेटका क्रममा मन्त्री चौधरीले नेपाल सरकारले हाल कृषि डिजिटलाइजेशन, युवा सशक्तीकरण र कृषि नवप्रवर्तन (इन्नोभेसन) लाई विशेष प्राथमिकतामा राखेर कार्ययोजनाहरू अगाडि बढाइरहेको जानकारी दिनुभयो। रैथाने तथा विशिष्ट उत्पादनको प्रवर्द्धनका लागि नेपालमा भौगोलिक संकेत (Geographical Indication – GI) दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिँदै मन्त्री चौधरीले हाल सुन्तला र किवी फलका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको समेत उल्लेख गर्नुभयो।
नेपालको कृषि सम्भाव्यताप्रति चासो राख्दै स्पेनी राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसबिलिटी प्रणालीको विकास तथा समग्र कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानका क्षेत्रमा स्पेन नेपालसँग सहकार्य गर्न पूर्ण रूपमा इच्छुक रहेको बताउनुभयो। त्यस क्रममा राजदूत पुजोलले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित गरिएको विशिष्ट वाइन उत्पादन प्रविधि, जैतुन (ओलिभ) तेलको गुणस्तर मापन गर्ने प्रभावकारी ट्रेसबिलिटी प्रणाली, तथा सुन्तला, सिट्रस एवं अंगुर खेतीका सफल विश्वव्यापी अभ्यासहरूबारे आफ्नो देशको अनुभव साट्नुभएको थियो।
साथै, उहाँले पानीको चरम अभाव झेल्ने टापु क्षेत्रहरूमा रात्रिकालीन समयमा पानी संकलन गर्ने वा उठाउने स्पेनको आधुनिक प्रविधि नेपालका लागि समेत उपयोगी हुन सक्ने भन्दै त्यसको प्राविधिक पक्षबारे मन्त्री चौधरीलाई अवगत गराउनुभयो।
