बाढी प्रभावित पशुपन्छीको उपचारमा २४ सै घण्टा सेवा, ११५९ हटलाइन सञ्चालन

काठमाडौँ । रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा सम्भावित रोग नियन्त्रणका लागि नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले निःशुल्क टेलिपरामर्श सेवा तथा हटलाइन सञ्चालनमा ल्याएको छ।

एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श निःशुल्क लिन सक्नेछन्। हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार तथा उपचार टोलीसँग समन्वय गरी द्रुत रूपमा टोली परिचालन गरिनेछ।

यसअघि एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित चिकित्सक टोलीलाई प्रभावित क्षेत्रमा खटाइसकेको छ। स्वयंसेवकका रूपमा खटिने भेटेरिनरी डाक्टरहरूको यातायात, खाना तथा बसोबासको सम्पूर्ण खर्च एसोसिएसनले नै व्यहोर्ने जनाएको छ।

बाढीपछि महामारी फैलन सक्ने जोखिमलाई मध्यनजरमा राख्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभाग लगायतका सरकारी निकायसँग समन्वय गरिरहेको छ।

सम्पर्क तथा सहजीकरणका लागि:

  • निःशुल्क हटलाइन: ११५९
  • डा. शंकर न्यौपाने (महासचिव): ९८४५४४०४०४
  • डा. विशाल पोखरेल (सचिव): ९८४३३९७५८७
  • डा. दिनेश अर्याल (केन्द्रीय सदस्य): ९८४००१७०७६

यसैबीच, पशु सेवा विभागले पनि रसुवा र नुवाकोटका लागि दुई वटा प्राविधिक टोली परिचालन गरिसकेको छ भने कान्तिपुर भेट डिस्ट्रीब्युटर्स  प्रभावित क्षेत्रमा निःशुल्क औषधि उपलब्ध गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *