वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष नेपालमा, नेपाल र वर्ल्ड भेटेरिनरी एसोसिएसनबीच सम्झौता हुने
काठमाडौँ — वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची हिजो साँझ नेपाल आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनले आज नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष, पशु सेवा विभागका महानिर्देशक, नेपाल भेटेरिनरी काउन्सिलका रजिस्ट्रार तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सम्बन्धित निकायका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एसोसिएशनका महासचिव डा. शंकर न्यौपानेले जानकारी दिएका छन्।
डा. कुराउचीले आज दिउँसो ३ बजे पशु स्वास्थ्य तथा पशु चिकित्सा क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूसँग छलफल गर्नेछन्। सो भेटवार्तामा नेपालको पशु स्वास्थ्य अवस्था, भेटेरिनरी शिक्षा, पेशागत विकास, ‘एक स्वास्थ्य’ (वान हेल्थ) अवधारणा तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध आयाममा मन्थन हुने अपेक्षा गरिएको छ।
यसै क्रममा नेपाल भेटेरिनरी एसोसिएशन र जापान भेटेरिनरी एसोसिएशनबीच सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको महासचिव न्यौपानेले बताए। उक्त सम्झौताले नेपाल र जापानका पशु चिकित्सकहरूबीच ज्ञान, अनुभव, प्रविधि तथा पेशागत क्षमता विकासमा सहकार्य विस्तार गर्ने बलियो आधार तयार पार्नेछ।
विश्व भेटेरिनरी क्षेत्रको शीर्ष नेतृत्वको यो भ्रमणलाई नेपालका पशु स्वास्थ्यसम्बन्धी विषयहरू अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने र द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएशनको निमन्त्रणामा नेपाल आएका डा. कुराउची विभिन्न उच्चस्तरीय कार्यक्रम तथा भेटवार्ता सम्पन्न गरी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।
