नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी संस्थाबीच ‘वन हेल्थ’ सहकार्यको ऐतिहासिक समझदारी

अन्तर्राष्ट्रिय सहकार्यबाट शिक्षा, अनुसन्धान र प्राविधिक क्षमता अभिवृद्धिमा जोड

काठमाडौं। नेपाल भेटेरिनरी एसोसिएसनले नेपालको पशु चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्दै ‘वन हेल्थ’ अवधारणा, पशु चिकित्सा शिक्षा, अनुसन्धान तथा प्राविधिक सहकार्य विस्तारका लागि महत्वपूर्ण समझदारी गरेको छ।

वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका कार्यालय तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

२०८३ साउन १८ गते भएको समझदारीमा भेटेरिनरी शिक्षा तथा अनुसन्धान, ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धन, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ।

समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा साझेदार संस्थाहरूका तर्फबाट वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरेका छन्।

समझदारी कार्यान्वयनमा आएपछि नेपाली पशु चिकित्सक तथा सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रियस्तरको ज्ञान तथा प्रविधिमा पहुँच, अनुसन्धान सहकार्य र पशु स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट पशु स्वास्थ्यसँगै खाद्य सुरक्षा तथा जनस्वास्थ्य संरक्षणका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्ने ‘वन हेल्थ’ अवधारणा पछिल्लो समय विश्वव्यापी प्राथमिकताको विषय बन्दै गएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय भेटेरिनरी संस्थासँग गरेको उक्त सहकार्यलाई महत्वपूर्ण मानिएको छ। विशेषगरी पशुजन्य रोग, खाद्य सुरक्षा, प्रतिजैविक प्रतिरोध तथा वातावरणीय स्वास्थ्यसँग जोडिएका चुनौती सम्बोधन गर्न यस्तो अन्तर्राष्ट्रिय सहकार्य उपयोगी हुने देखिएको छ।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीसहित उनको प्रतिनिधिमण्डलको सहभागिता थियो। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक डा. निना अमात्यलगायत पशु चिकित्सा तथा पशुपन्छी विकास क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू डा. सितलकाजी श्रेष्ठ, डा. प्रह्लाद सापकोटा र डा. विमलकुमार निर्मल, फाभा जेड्सी कार्यक्रमकी प्रतिनिधि डा. सम्झना काफ्ले तथा नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय कार्यसमितिका पदाधिकारीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको समेत सहभागिता रहेको एसोसिएसनका सचिव डा. विशाल पोख्रेलले जानकारी दिए।

नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले समझदारीलाई नेपालको भेटेरिनरी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा ‘वन हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अवसर सिर्जना हुने बताए।

उनका अनुसार समझदारीलाई व्यवहारमा कार्यान्वयन गर्दै संयुक्त तालिम, अनुसन्धान तथा प्राविधिक कार्यक्रम सञ्चालन गर्न सके यसको प्रत्यक्ष लाभ नेपाली पशु चिकित्सक, पशु स्वास्थ्य सेवा तथा समग्र पशुपन्छी क्षेत्रमा पुग्नेछ।

नेपाल भेटेरिनरी एसोसिएसनले वर्ल्ड भेटेरिनरी एसोसिएसन, जापान भेटेरिनरी मेडिकल एसोसिएसन तथा फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका कार्यालयप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा नेपालको पशु चिकित्सा सेवा, जनस्वास्थ्य तथा ‘वन हेल्थ’ अभियानलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *