पारिश्रमिकमै कमिसनको चक्कर: पशु चिकित्सकसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोप कार्यक्रम सम्पन्न गरेपछि कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी दिनका लागि घुस/रिसवत माग गरेको आरोपमा पशु चिकित्सकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाले खोप कार्यक्रम सम्पन्न गरेपश्चात् कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिन लगाउने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको आरोप लागेको हो।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १ लाख ३२ हजार ३५० कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार आरोपितहरूले खोप कार्यक्रम सम्पन्न गरेपछि पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानीका लागि सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम माग गरेको अनुसन्धानबाट खुलेको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत कार्यालय प्रमुखसमेत घुस/रिसवतसम्बन्धी आरोपमा मुछिएपछि पशु स्वास्थ्य सेवा क्षेत्रमा सरकारी कार्यक्रम सञ्चालन, पारिश्रमिक भुक्तानी तथा प्रशासनिक प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको विषय पुनः चर्चामा आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *