भोटेकोशी बाढी : पशु सेवा विभागद्वारा रसुवा र नुवाकोटमा प्राविधिक टोली परिचालन, सम्पर्क व्यक्ति तोकियो
काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भोटेकोशी नदीमा आएको बाढीका कारण पशुपन्छी तथा जनधनमा ठूलो क्षति भएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, प्राथमिक उपचार तथा जैविक सुरक्षा व्यवस्थापनका लागि दुईवटा प्राविधिक टोली खटाइएको छ।
नुवाकोटमा खटिएको टोलीमा केन्द्रीय रिफरल पशु चिकित्सालयका वरिष्ठ पशु चिकित्सक डा. प्रवेश शर्मा, पशु चिकित्सक डा. सुदीप रेग्मी, पशु रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक डा. दिनेश अर्याल र केन्द्रीय पशु प्रयोगशालाका सुदीप काफ्ले रहेका छन्।
त्यस्तै, रसुवामा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ, केन्द्रीय प्रयोगशालाका पशु चिकित्सक डा. विकास गिरी र पशु सेवा विभागका पशु विकास अधिकृत डा. गणेश रानाभाटलाई परिचालन गरिएको छ।
प्रदेश तथा स्थानीय सरकार र सुरक्षा निकायसँगको समन्वयमा घाइते पशुपन्छीको आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा सम्भावित महामारी नियन्त्रणका लागि टोली औषधी तथा उपचार सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएको विभागले जनाएको छ।
विभागले प्रभावित क्षेत्रमा उद्धार तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन चार जना सम्पर्क व्यक्ति समेत तोकेको छ। जसअनुसार डा. प्रवेश शर्माको सम्पर्क नम्बर ९८५११५७५३१, डा. नवराज श्रेष्ठको ९८४१५७४०२४, डा. आभास पौडेलको ९८५८०६०७१३ र डा. गणेश रानाभाटको ९८४६८४०५६७ रहेको छ।

विभागले विपद्को यस कठिन अवस्थामा पशुपन्छीको उद्धार, उपचार तथा सम्भावित महामारी नियन्त्रणका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, पेसागत संघ–संस्था, उद्यमी, व्यवसायी तथा नागरिक समाजलाई सक्रियतापूर्वक सहयोग र समन्वय गर्न आह्वान गरेको छ।
