भोटेकोशी बाढीपछि पशुपन्छी क्षेत्र राहत र उद्धारमा जुट्यो

काठमाडौं । रसुवा, नुवाकोट, गोरखा, धादिङलगायतका जिल्लामा भोटेकोशी नदीको बाढीले पशुपन्छी, मत्स्यपालन तथा जनधनमा ठूलो क्षति पुर्‍याएपछि नियामक निकाय, पेसागत संघ–संस्था तथा निजी क्षेत्र राहत र उद्धारमा जुटेका छन्।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का रजिष्ट्रार जनकबहादुर रावलद्वारा जारी अपिलमा बाढी प्रभावित पशुपालक कृषक तथा उद्यमीको राहत र पुनःस्थापनाका लागि सबै पक्षलाई हातेमालो गर्न अनुरोध गरिएको छ। परिषद्ले प्राविधिक, औषधीजन्य, आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई मानवीय सेवामा एकताबद्ध हुन सम्पूर्ण पशु सेवा व्यवसायीलाई आह्वान गरेको छ।

यसैगरी, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले अपिल जारी गर्दै प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार, रोग नियन्त्रण, खोप, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा पुनःस्थापनाका लागि आफ्ना सम्पूर्ण सदस्यलाई फिल्डमा खटिन निर्देशन दिनुभएको छ।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीका अनुसार पशु सेवा विभाग र केन्द्रीय रिफरल पशु चिकित्सालयको समन्वयमा डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सकको टोली प्रभावित क्षेत्रमा खटाइएको छ। टोलीको स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप प्राविधिक जनशक्ति तथा सामग्री पठाइनेछ।

फिल्डमा खटिन इच्छुक स्वयंसेवक पशु चिकित्सकको यातायात, खाना तथा बसोबासलगायत आवश्यक खर्च एसोसिएसनले व्यहोर्ने जनाएको छ। हालका लागि आवश्यक प्राथमिक उपचारका औषधी तथा सामग्री कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालिले उपलब्ध गराएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।

यसका साथै, नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आफ्ना शाखामार्फत तथा एनिमल नेपालले स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावित क्षेत्रमा राहत, उद्धार तथा औषधी वितरणका गतिविधिलाई अघि बढाइरहेका छन्।

बाढीबाट प्रभावित पशुपालक कृषक तथा व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पशुपन्छीको उद्धार, उपचार र रोग नियन्त्रणका लागि सम्बन्धित निकाय तथा संघ–संस्थाबीच समन्वय बढाइएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *