नेपाल–भारतबीच पशुपालन र मत्स्यपालन विकासमा सहकार्य गर्ने समझदारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पशुपालन तथा मत्स्यपालन विकासमा सहकार्य गर्ने समझदारी भएको छ। दुई देशबीच कृषि तथा पशुपन्छी क्षेत्रको विकाससँगै स्वास्थ्य, प्रविधि, अनुसन्धान र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने गरी आठ विषयमा समझदारी भएको हो।
भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यसमा पशुपालन र मत्स्यपालन विकासका क्षेत्रमा सहकार्य गर्ने विषय पनि समेटिएको छ।
पशुपालन तथा मत्स्यपालन विकाससम्बन्धी समझदारीले नेपालमा पशुपन्छी उत्पादन, मत्स्यपालन प्रविधि, प्राविधिक ज्ञान र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा दुई देशबीच सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, समझदारीको कार्यान्वयन प्रक्रिया, सहकार्यका प्राथमिक क्षेत्र र कार्यक्रमबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
समझदारीअनुसार अन्य विषयमा भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ। भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच पनि सहकार्य गर्ने समझदारी भएको छ।
त्यस्तै, नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।
आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार नेटवर्क स्थापना, दिगो सहरी विकास तथा स्वास्थ्य र चिकित्साको क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।
स्वास्थ्य तथा चिकित्सासम्बन्धी समझदारी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच भएको हो। त्यसैगरी, स्याटेलाइट सञ्चार नेटवर्क स्थापनाका लागि भारतको अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले नेपाल–भारतबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
