अवैध पोल्ट्रीजन्य वस्तुको चोरी पैठारी नियन्त्रण गर्न प्रहरी प्रमुखहरूको ध्यानाकर्षण

पर्सा। भारतसँग जोडिएको खुला सीमाबाट भइरहेको पोल्ट्रीजन्य वस्तुको अवैध चोरी पैठारी नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघको टोलीले बारा र पर्साका सुरक्षा निकायका प्रमुखहरूको ध्यानाकर्षण गराएको छ।

संघको अगुवाइमा गएको टोलीले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बस्नेत, नेपाल प्रहरीका एसपी पवनकुमार भट्टराई, बाराका सशस्त्र प्रहरी एसपी विशाल सिलवाल तथा नेपाल प्रहरीका एसपी नरेन्द्र कुँवरसँग भेटघाट तथा छलफल गरेको हो।

भेटवार्ताका क्रममा भारतसँग जोडिएको खुला सीमाको दुरुपयोग गर्दै अवैध रूपमा नेपाल भित्रिने कुखुरा, चल्ला, अण्डा तथा अन्य पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रभावकारी निगरानी, नियमित अनुगमन र सुरक्षा व्यवस्था थप कडा बनाउन आग्रह गरिएको थियो।

छलफलमा अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण स्वदेशी ह्याचरी तथा दाना उद्योग, पोल्ट्री व्यवसायी र किसानहरूले भोग्नुपरेका समस्या तथा यसले समग्र पोल्ट्री क्षेत्रको उत्पादन र बजार व्यवस्थापनमा पार्ने नकारात्मक असरबारे सुरक्षा निकायका प्रमुखहरूलाई जानकारी गराइएको थियो।

नेपाल पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा खुला सीमाबाट हुने अवैध चोरी पैठारीले स्वदेशी उद्योग, व्यवसायी तथा किसानको लगानी र व्यवसायमा प्रत्यक्ष असर पार्ने भन्दै यसको नियन्त्रण अपरिहार्य रहेको टोलीले जनाएको छ।

स्वदेशी पोल्ट्री उद्योगको संरक्षण, व्यवसायी तथा किसानको लगानीको सुरक्षा र बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्न सीमा क्षेत्रमा निगरानी तथा अनुगमन थप प्रभावकारी बनाउनुपर्नेमा टोलीले जोड दिएको छ। साथै, अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकाय, उद्योगी, व्यवसायी तथा किसानबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ।

टोलीमा नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, उपाध्यक्ष बलराम सन्जेल, महासचिव नवराज पौड्याल, नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष रविन पुरी, ह्याचरी उद्योग संघका कार्यसमिति सदस्य नारायण गिरी, विष्णुप्रसाद रिमाल र अहम्मद रिजवान सहभागी थिए।

त्यस्तै, चितवनबाट सुदर्शन जोशी, डा. सुलभ श्रेष्ठ र प्रकाश पौडेल तथा बारा जिल्लाका विभिन्न व्यवसायी एवं किसानहरूको पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *