मन्त्रिपरिषद्बारा मनोनयन हुनुपर्ने अध्यक्षको जिम्मेवारी उपसचिवलाई
काठमाडौँ। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षको कामकाज गर्ने जिम्मेवारी पाएका जीवराज पौडेललाई परिषद्को आधिकारिक वेबसाइटमा भने ‘अध्यक्ष’ का रूपमा उल्लेख गरिएको छ। नेपाल सरकारले नियमित अध्यक्षका रूपमा मनोनयन नगरे पनि वेबसाइटमा अध्यक्ष पद नै उल्लेख गरिएपछि उनको जिम्मेवारी र पदको आधिकारिक हैसियतबारे प्रश्न उठेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले पौडेललाई अर्को व्यवस्था नभएसम्म परिषद् अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट जारी पत्रअनुसार, उनलाई सुरुमा मन्त्रीस्तरीय निर्णयबाट अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिइएको थियो। त्यसपछि असोज १४ गते सचिवस्तरीय निर्णयबाट परिषद्मा दरबन्दीनै नभएको कार्यलयमा पदस्थापन गरिएको पत्र जारी भएको छ।

पौडेल मन्त्रालयमा वरिष्ठ पशु विकास अधिकृतका रूपमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी हुन्। नियमित अध्यक्षको मनोनयन र अध्यक्षको कामकाज गर्ने जिम्मेवारी एउटै विषय होइनन्। तर परिषद्को वेबसाइटमा उनको नाममुनि ‘अध्यक्ष’ मात्र उल्लेख छ। जिम्मेवारी अस्थायी प्रकृतिको रहेको अवस्थामा पदको हैसियत नखुलाई अध्यक्षका रूपमा विवरण सार्वजनिक गरिनुले परिषद्को आधिकारिक अभिलेख र नेतृत्वसम्बन्धी प्रक्रियामा स्पष्टता आवश्यक देखाएको छ।

भेट टाइम्ससँगको कुराकानीमा पौडेलले आफूलाई मन्त्रालयमा रहँदा मन्त्रीस्तरीय निर्णयबाट अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिइएको बताए। तर असोज १४ गते सचिवस्तरीय निर्णयबाट परिषद्मा पदस्थापन गरिएको विषयमा भने आफू नै अन्योलमा रहेको उनको भनाइ छ।

“मन्त्रालयमा रहँदा थप जिम्मेवारीसहित अध्यक्षको कामकाज गर्ने निर्णय भएको थियो। तर असोज १४ गते सचिवस्तरीय निर्णयबाट कसरी पदस्थापन भयो, म आफैँ अलमलमा छु। यस्तो पदस्थापन कसरी भयो, हुन नपर्ने हो,” पौडेलले भने। आफू मन्त्रालय फर्किएपछि यस विषयमा थप बुझ्ने उनले बताए।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ ले परिषद्को अध्यक्ष नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था गरेको छ। अध्यक्षका लागि ऐनले तोकेको व्यावसायिक योग्यता र अनुभवसमेत पूरा हुनुपर्छ। त्यसैले अध्यक्षको नियमित मनोनयन नभएको अवस्थामा कामकाजको जिम्मेवारी दिइएको व्यक्तिलाई आधिकारिक वेबसाइटमा अध्यक्षका रूपमा उल्लेख गर्नुको आधार के हो भन्ने प्रश्न उठेको छ। परिषद्मा रजिष्ट्रार जनकबहादुर रावल कार्यरत छन्।
परिषद्का निर्वाचित उपाध्यक्ष रामप्रसाद मेहताले अस्थायी प्रकृतिको नेतृत्वले संस्थाको कामकारबाही प्रभावित हुन सक्ने बताए। परिषद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐनअनुसार अध्यक्षको नियमित मनोनयन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।
मेहताले पौडेललाई दरबन्दी नभएको स्थानमा पदस्थापना सहित खटाइएको र त्यहाँ तलबभत्तासमेत भुक्तानीहुन सक्ने जानकारी आफूले पाएको बताए। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि नभएको उनले स्पष्ट पारे। थप विवरणका लागि रजिष्ट्रारसँग बुझ्नुपर्ने उनको भनाइ छ।
यस विषयमा परिषद्का रजिष्ट्रार जनकबहादुर रावलको प्रतिक्रिया लिन भेट टाइम्सले सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन।
सहसचिव रजिष्ट्रार भएको परिषद्मा उपसचिवलाई अध्यक्षको जिम्मेवारी
परिषद्मा सहसचिवस्तरका रजिष्ट्रार कार्यरत छन्। तर अध्यक्षको कामकाज गर्ने जिम्मेवारी भने उपसचिवस्तरका वरिष्ठ पशु विकास अधिकृत जीवराज पौडेललाई दिइएको छ। नियमित अध्यक्षको मनोनयन नगरी कामकाजको जिम्मेवारीबाट परिषद्को नेतृत्व सञ्चालन गरिएको अवस्थामा यस्तो निर्णयको कानुनी आधार र नियमित मनोनयन प्रक्रिया कहिले अघि बढ्छ भन्ने प्रश्न उठेको छ। परिषद्को वेबसाइटमा भने पौडेललाई ‘अध्यक्ष’ भनेर उल्लेख गरिएको छ।
परिषद्का एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा अध्यक्षको नियमित मनोनयन र कामकाजको जिम्मेवारीबीच कानुनी भिन्नता रहेको बताए। उनका अनुसार, नेपाल सरकारले ऐनबमोजिम अध्यक्षमा मनोनयन नगरेको अवस्थामा पौडेललाई नियमित अध्यक्ष मान्न मिल्दैन। उनले पौडेललाई निजामती सेवाबाट अलग भएर नेपाल सरकारले अध्यक्षमा मनोनयन गरेको अवस्थामा मात्र नियमित अध्यक्षका रूपमा स्वीकार गर्न सकिने तर्कसमेत गरे। अन्यथा, कामकाजको जिम्मेवारीका आधारमा उनलाई अध्यक्ष मान्न मिल्ने वा नमिल्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।
परिषद्को व्यवस्थाअनुसार अध्यक्षको पदलाई मर्यादाक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवसरह राखिएको छ। अध्यक्षले परिषद्को बैठकमा सहभागी भएबापतको भत्ता, भ्रमण भत्तालगायतका सुविधा पनि अर्थ मन्त्रालयको स्वीकृत मापदण्डअनुसार विशिष्ट श्रेणीसरह पाउने व्यवस्था रहेको बताइएको छ। यस्तो व्यवस्थाबीच उपसचिवस्तरका पौडेललाई अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिइनु र परिषद्को वेबसाइटमा अध्यक्षकै रूपमा उल्लेख गरिनुले निर्णयको आधार तथा पदको हैसियतबारे थप प्रश्न उठाएको छ।
