बाढीमा मरेका पशुपन्छी व्यवस्थापन गर्न पशु सेवा विभागद्वारा मापदण्ड जारी

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण मरेका पशुपन्छीका शव नदी किनार तथा तटीय क्षेत्रमा फेला पर्न थालेपछि पशु सेवा विभागले तिनको सुरक्षित व्यवस्थापनका लागि आवश्यक मापदण्ड जारी गरेको छ।

खुला रूपमा शव कुहिन दिँदा वा असुरक्षित तरिकाले गाड्दा संक्रामक पशु रोग फैलिनुका साथै मानव स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले विभागले घटनास्थलमै अपनाउनुपर्ने सुरक्षित व्यवस्थापन विधि सार्वजनिक गरेको हो।

विभागले शव व्यवस्थापनमा खटिने टोलीले आवश्यक जैविक सुरक्षा तथा व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने जनाएको छ। कार्यस्थलमा पीपीई, बुट, मास्क, पञ्जालगायतका सुरक्षा सामग्री, खाल्डो खन्ने औजार तथा चुना, फिनोल, भिरकोनजस्ता कीटाणुनाशक सामग्रीको व्यवस्था गर्न भनिएको छ।

शव गाड्ने स्थान छनोट गर्दा खानेपानीको स्रोत, बस्ती तथा सार्वजनिक क्षेत्रबाट टाढा, पानी नजम्ने र तुलनात्मक रूपमा उच्च स्थान रोज्नुपर्ने मापदण्डमा उल्लेख छ।

त्यस्तै, कम्तीमा तीन फिट माटोले ढाक्न मिल्ने गरी खाल्डो खनेर शव राख्नुपर्ने, त्यसमा नुन, चुना वा जैविक सूक्ष्मजीव (ईएम) छर्केर माटोले राम्रोसँग पुर्नुपर्ने व्यवस्था गरिएको छ। शव गाडिएको स्थानमा जनावरले कोट्याउन नसक्ने गरी आवश्यक सावधानी अपनाउन तथा धेरै संख्यामा शव गाडिएको अवस्थामा सो स्थानमा संकेत वा चिन्ह राख्न विभागले भनेको छ।

शव व्यवस्थापनको काम सम्पन्न भएपछि प्रयोग गरिएका औजार, सवारीसाधन तथा पीपीईलगायतका सामग्री पूर्ण रूपमा निःसंक्रमण गर्नुपर्नेछ। साथै, व्यवस्थापन गरिएको शवको संख्या, स्थान तथा अन्य आवश्यक विवरण अभिलेखमा राख्नुपर्ने विभागले जनाएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको निर्णयअनुसार जारी गरिएको मापदण्डको मुख्य उद्देश्य बाढीका कारण मरेका पशुपन्छीबाट सम्भावित संक्रामक रोग फैलिन नदिनु तथा मानव स्वास्थ्य र वातावरणीय जोखिम न्यूनीकरण गर्नु रहेको छ।

विभागले विशेषगरी भोटेकोशी तथा त्रिशूली–नारायणी नदी तटीय क्षेत्रमा भेटिएका मरेका पशुपन्छीको व्यवस्थापनमा उक्त मापदण्ड पालना गर्न सम्बन्धित निकाय तथा टोलीलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *