बाढीपीडितको राहतमा दाना उद्योग संघको पहल, एकमुष्ट सहयोग गर्ने योजना

काठमाडौँ । नेपाल दाना उद्योग संघले बाढी तथा पहिरो प्रभावितका लागि कम्तीमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएर एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना बनाएको छ।

संघका अध्यक्ष उमेशचन्द्र सापकोटाद्वारा जारी अपिलमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न संघका सदस्य उद्योग तथा सरोकारवाला दाताहरूलाई आग्रह गरिएको छ।

संघका स्रोतका अनुसार सदस्य उद्योग तथा दाताहरूबाट कम्तीमा ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री स्वयं वा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना संघले बनाएको छ।

संघले विपद्का कारण पोल्ट्री क्षेत्रमा समेत ठूलो क्षति पुगेको जनाएको छ। कतिपय कुखुराका खोर बगेका, ठूलो संख्यामा कुखुरा नष्ट भएका तथा विभिन्न क्षेत्रमा बिजुली, खानेपानी, बाटोघाटो र पुलपुलेसा अवरुद्ध हुँदा दाना तथा चल्ला आपूर्तिमा समस्या आएको संघले उल्लेख गरेको छ।

संघले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै आफ्ना सदस्य उद्योग तथा सरोकारवाला दाताहरूलाई क्षमताअनुसार आर्थिक सहयोग उपलब्ध गराउन अपिल गरेको छ।

सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा ए/सी पेयी चेकमार्फत उपलब्ध गराउन संघले अनुरोध गरेको छ। संकलित रकम विशेष कार्यक्रम आयोजना गरी नेपाल सरकारको सम्बन्धित निकायमा एकमुष्ट रूपमा हस्तान्तरण गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *