प्रधानमन्त्री बालेन शाहद्वारा डीडीसीको चीज प्रचार, सामाजिक सञ्जालमा चर्चा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले स्वदेशी दुग्धजन्य उत्पादन डीडीसीको ‘याक चीज’ प्रचार गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा डीडीसीको चीजसँग तस्वीर सार्वजनिक गर्दै “चिज भनौँ, डीडीसीको चिज” लेखेका हुन्। पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ।
तस्वीरमा प्रधानमन्त्री शाह डीडीसीद्वारा उत्पादन गरिएको ‘याक चीज’ सँग देखिएका छन्। उक्त उत्पादन हिमाली चौँरीको दूधबाट तयार गरिएको चीज हो।
प्रधानमन्त्रीको पोस्टलाई स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली दुग्ध उद्योगप्रति सकारात्मक सन्देश तथा स्थानीय उत्पादनप्रतिको विश्वास बढाउने प्रयासका रूपमा हेरिएको छ। विदेशी दुग्धजन्य वस्तुको बढ्दो प्रतिस्पर्धाबीच प्रधानमन्त्री स्वयंले स्वदेशी ब्रान्डको प्रचार गर्नु अर्थपूर्ण मानिएको छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) पछिल्लो समय आर्थिक तथा व्यवस्थापकीय चुनौती सामना गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो सार्वजनिक समर्थनले संस्थानको ब्रान्ड प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
