नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमतीको अध्यक्षमा शरणकुमार खनाल निर्विरोध
काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखाको १०औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। स्वयम्भूस्थित क्वालिटी प्यालेसमा ‘आजको आवश्यकता, व्यवसाय प्रवर्द्धनमा व्यवसायिक इमान्दारिता’ भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले शरणकुमार खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको हो।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार उपाध्यक्ष (थोक) मा सचिन राजोपाध्याय, उपाध्यक्ष (खुद्रा) मा नारायणप्रसाद अधिकारी, सचिवमा यमलाल मरासिनी, कोषाध्यक्षमा छविलाल न्यौपाने तथा सहसचिवमा यशु पाण्डे निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी खुला सदस्यमा राजेन्द्र घिमिरे र अमर श्रेष्ठ, महिला सदस्यमा जननी पण्डित निर्वाचित भएका छन् भने अजय थापा मनोनीत सदस्य चयन भएका छन्। निवर्तमान अध्यक्ष श्रीकृष्णबहादुर अधिकारी (रमेश) पदेन सदस्य रहने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि तथा संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले संस्था वैधानिक प्रक्रियाअनुसार अघि बढिरहेको उल्लेख गर्दै सदस्यता अद्यावधिक अभियानलाई तीव्रता दिइएको र व्यवसायीका समस्या समाधानका लागि नियमनकारी निकायदेखि संसदीय समितिसम्म निरन्तर पहल भइरहेको बताए।
बागमती जिल्ला शाखाका उपाध्यक्ष रत्नकाजी प्रजापतिले स्वागत मन्तव्यका क्रममा पशुपन्छी औषधि व्यवसायमा औषधि तथा पसल दर्ता, अवैध आयातलगायत चुनौती कायम रहेकाले ती समस्या समाधान गर्न सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुना सुवेदी, केन्द्रीय कोषाध्यक्ष राजेन्द्र थापा मगर तथा पूर्व अध्यक्षहरू चित्रबहादुर गुरुङ, नवराज तिमिल्सेना र भरतबहादुर पाण्डेलगायतले संस्थाको वैधानिकता, सदस्यता अद्यावधिक, संगठनात्मक एकता, पारदर्शिता र व्यवसायीका साझा हकहितका विषयमा धारणा राखेका थिए। उनीहरूले संस्थालाई गुटगत राजनीतिभन्दा माथि उठाएर व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउन नयाँ नेतृत्वलाई आग्रह गरेका थिए।
नेपाल औषधि व्यवसायी संघ, आयुर्वेदिक औषधि व्यवसायी संघ तथा विभिन्न प्रदेश र जिल्ला शाखाका प्रतिनिधिहरूले पनि व्यवसायीबीच एकता, अनुशासन र व्यावसायिक मर्यादा कायम राख्दै संस्थालाई थप प्रभावकारी बनाउन शुभकामना व्यक्त गरेका थिए।
निवर्तमान अध्यक्ष कृष्णबहादुर अधिकारी (रमेश)ले आफ्नो कार्यकालमा व्यवसायी सचेतना कार्यक्रम, विपन्न परिवारलाई चल्ला वितरण तथा व्यवसायी हितका विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनमा सहभागीहरूले व्यवसायीमैत्री नीति निर्माण, सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउने, केन्द्र–प्रदेश समन्वय सुदृढ गर्ने तथा पशुपन्छी औषधिको गुणस्तर सुनिश्चित गर्न नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
