प्राविधिक दक्षता अभिवृद्धिका लागि नेभ्ला भरतपुरद्वारा अभिमुखीकरण कार्यक्रम

चितवन।नेपाल प्याराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) भरतपुर महानगर शाखाले पशु स्वास्थ्य प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। भरतपुर महानगरपालिकामा कार्यरत निजी तथा सरकारी क्षेत्रका पशु स्वास्थ्य प्राविधिकहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।

नेभ्ला भरतपुर महानगर शाखाका अध्यक्ष शिवप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखा सचिव अमिर मियाले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्षले दक्ष, सबल र सक्षम प्राविधिकहरूबाट मात्रै किसानका पशुसम्बन्धी समस्या प्रभावकारी रूपमा समाधान गर्न सकिने बताउनुभयो। उहाँले किसानको हित संरक्षण तथा उत्पादन वृद्धि गर्न प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै दुग्ध सहकारी संघ आवश्यक सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले हाल चितवनमा Heifer International सँगको सहकार्यमा किसानको हकहित तथा उत्पादन वृद्धि लक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै नेभ्ला भरतपुरले थालेको पहललाई सराहनीय कदमको रूपमा वर्णन गर्नुभयो। साथै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा (पशु शाखा) प्रमुख एवं पशु चिकित्सक शैलेन्द्र भण्डारीले कार्यक्रमलाई सार्थक र उपयोगी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले प्राविधिकहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै आगामी दिनमा नेभ्लाले सञ्चालन गर्ने प्राविधिक अभिमुखीकरण कार्यक्रमहरूमा महानगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै महानगरपालिकाले Inseminator तथा पशु स्वास्थ्य प्राविधिकहरूका लागि विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि उहाँले गराउनुभयो।

प्रशिक्षण सत्रमा राष्ट्रिय किसान आयोग, कीर्तिपुरमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्र सापकोटाले प्रजननसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले Anatomy तथा Physiology, AI Techniques, Hormone Protocols, Medicine Use, आहार व्यवस्थापन तथा प्रजनन रोगको Diagnosis र Treatment सम्बन्धी विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *