कृषि मन्त्रीमा ज्वालाको ११७ दिन, दुग्ध किसानलाई भुक्तानी देखी रासायनिक मलको अभाव अन्त्य

काठमाडौं । निवर्तमान कृषि मन्त्री ज्वालाकुमारी साहले ११७ दिनमा मन्त्रीका रूपमा गरेका कामका फेहरिस्त सार्वजनिक गरेकी छन् । नयाँ गठबन्धन निर्माण गर्दै एमाले सरकारबाट बाहिरिएपछि सो दलबाट प्रतिनिधित्व गर्दै प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी सम्हालेकी साहले आफ्ना उपलब्धि सार्वजनिक गरेकी हुन् ।

तेस्रो पटक कृषि मन्त्री बनेकी साहले २५ वटा उपलब्धिमूलक काम गरेको दाबी गरेकी छन् । जसमा सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएकोदेखि मह आयातमा प्रतिबन्ध, बजेट निर्माणपूर्व गरिएका छलफलसम्मका विषय छन् ।

साहले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिलाएको र महको आयातमा प्रतिबन्ध लगाएकोलाई आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेकी छन् ।

कृषि जैविक विविधता विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ संसदमा बहुमतले पारित गरेको, दुग्ध किसानलाई भुक्तानी दिने निर्णय गरेकोलाई पनि उनले आफ्ना उपलब्धि ठानेकी छन् ।

निवर्तमान कृषि मन्त्री साहकै कार्यकालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन र सपर जोन थप गर्ने, जीवनाशक विषादी नियमावली पारित गर्ने निर्णय पनि भएको छ । आफ्नो कार्यकालमा रासायनिक मलको अभाव अन्त्य भएको दाबी उनले प्रस्तुत गरेकी छन् । निवमर्तमान मन्त्री साहले यस्तो दाबी गरे पनि उनले भनेजस्तो रासायनिक मलको अभाव अन्त्य भएको छैन ।

त्यस्तै, बीउबिजन नियमावली मन्त्रिपरिषद्मा पेश हुने तयारीमा रहेको, विश्व दुग्ध दिवस किसानको गोठमा मनाउन सुरु गरेको, पशु र कृषि बीमाको भुक्तानी दिन सुरु गरेको, चैतेधानको न्यूनतम समर्थन मूल्य तोकेको, कृषिमा लगानी दशक घोषणा गरेको उनले उल्लेख गरेकी छन् ।


प्रत्येक वर्षको वैशाख ७ लाई राष्ट्रिय याक दिवसका रूपमा मनाउन पहल गरेकोलाई उल्लेखनीय कामका रूपमा प्रस्तुत गरेकी साहले हरेक प्रदेशमा कृषि एक्सिलेन्स सेन्टरको सुरुवात गरेको, मन्त्रालयको बजेट सहज ढंगले निर्माण गर्न सुरुवात गरेको, बजेट निर्माणपूर्व अन्तरक्रिया गरेकोलाई पनि मुख्य उपलब्धि मानेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *