एनभीएमा डा. शीतलकाजी श्रेष्ठको ह्याट्रिक, डा. वंशी शर्मालाई पराजित गर्दै भारी मतान्तरले विजयी
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनको अध्यक्षमा डा. शीतलकाजी श्रेष्ठले ह्याट्रिक गरेका छन् । प्रतिस्पर्धी उम्मेदवार डा. वंशी शर्मालाई भारी मतान्तरले पराजित गर्दै उनी तेस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
कुल खसेको ४ सय ८६ मत मध्ये डा. श्रेष्ठले ३ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । डा. शर्माले भने ९६ मत प्राप्त गरेका छन् ।
यसअघि २/२ वर्ष गरी ४ वर्षको दुई कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले कोभिड–१९ को महामारीका कारण एशोसिएशनको अधिवेशन सरेपछि थप १ वर्ष अध्यक्ष चलाएका थिए । दुई कार्यकाल गरी एशोसिएशनलाई ५ वर्षदेखि नेतृत्व गर्दै आएका श्रेष्ठले अब तेस्रो कार्यकालका लागि पनि एशोसिएशनको नेतृत्व सम्हाल्ने भएका छन् ।
पशु सेवा विभागको महानिर्देशकबाट सेवा निवृत्त भएका डा. वंशी शर्माले एशोसिएशनमा आफ्नो पोर्टफोलियो बनाउन चाहे पनि त्यो भने असफल भएको छ ।
त्यस्तै, एशोसिएशनको उपाध्यक्षमा झिनो मतान्तरले डा. कृष्ण काफ्ले विजयी भएका छन् । काफ्लेले २ सय ४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा. ग्रिष्म न्यौपानेले २ सय ३४ मत प्राप्त गरेका छन् ।
यसअघि नै महासचिवमा डा. अशेष भट्टराई निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सचिव पदमा थिए । त्यस्तै सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा डा. सिकेश मानन्धर निर्वाचित भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता गर्ने ५ चैतको अन्तिम समयसम्म यी पदमा दोस्रो उम्मेद्वारले उम्मेदवारी नदिएपछि उनीहरु निर्विरोध भएका हुन् ।
त्यस्तै, एशोसिएशनको ६ जना सदस्य पदका लागि भएको प्रतिस्र्धामा डा. शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य, डा. सविना लम्साल विजयी भएका छन् । उक्त पदमा १२ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
ललितपरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एशोसिएशनको निर्वाचन कार्यक्रमको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले गरेकी थिइन् ।