सोच बदलौं, किसानलाई सम्मान गरौं : मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन् । काठमाडौंको थापागाउँस्थित थनेत प्लानेट फार्म प्रालिको उद्घाटन गर्दै शुक्रबार मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन,’ उनले भनिन्, ‘पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो ।’ श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताइन् ।
‘विगतमा श्रम गर्ने, खेतीकिसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन हामीकहाँ थिएन तर अब त्यो सोच बदलाैं,’ उनले भनिन्, ‘श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौं । श्रम गर्ने मान्छेलाई उत्साहित बनाउन सिकौं ।’
विदेश गएर फर्किएका धेरै युवा अहिले व्यवसायिक रुपमा कृषि कर्ममा लागेको बताउदै उनले अब स्वदेशमै रहेर बेरोजगार युवालाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन् ।
कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारी बजार विकास कार्यक्रममार्फत कृषि बजार सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री अर्यालले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताइन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषिमा यान्त्रिकीकरणको कार्यक्रम अघि बढाइएको बताउँदै उनले सरकारका कार्यक्रमलाई सहयोग पु¥याउने गरी विभिन्न संघसंस्थामार्फत गरिएको प्रयास राम्रो रहेको बताए ।