बीमा कम्पनीलाई नयाँ निर्देशन : कृषि तथा पशुपन्छीमा ५ प्रतिशत बीमा अनिवार्य
काठमाडौं– निर्जीवन बीमा कम्पनीहरुले वार्षिक रुपमा बिक्री गर्ने कुल बीमालेख मध्ये ५ प्रतिशत बीमालेख कृषि तथा पशुपन्छी क्षेत्रमा जारी गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
बीमा समितीले गत सोमाबार जारी गरेको निर्देशिकामा सो कुरा उल्लेख गरिएको हो । बीमा समितिका अनुसार, बीमा कम्पनीहरु कृषि बीमामा आकर्षित नभएका कारण यस्तो व्यवस्था गरिएको हो । यसै आर्थिक वर्षबाट बीमा कम्पनीहरुले निर्देशिकाले उल्लेख गरे बमोजिमका कार्य गर्नुपर्ने छ ।
जारी नयाँ निर्देशिकामा कृषि तथा पशुपन्छी बीमालाई वनस्पति र जीवजन्तु बीमा गरी दुई भागमा विभाजन गरिएकाले बीमा कम्पनीहरुले अब सोही अनुसार बीमालेख जारी गर्नुपर्ने छ । अबदेखि छोटो अवधिको बीमालेख जारी गर्न सकिने पनि निर्देशिकामा जनाइएको छ ।
निर्देशिका बमोजिम बीमा गर्न आयातित पशुपन्छीको हकमा क्वारेन्टाइन जाँचपास गरेको र आयातित बनस्पतिको हकमा प्रचलित कानून बमोजिम क्वारेन्टाइनसहित फाइटोस्यानिटरी प्रमाणपत्र प्राप्त गरेको हुनपर्ने छ ।
प्राविधिकले बीमा गरिने वस्तुको स्वास्थ्य परीक्षण वा गुणस्तर परीक्षण गरी उक्त बस्तुको स्वास्थ्य वा गुणस्तरको आधारमा बीमा गर्न योग्य छ छैन भनी प्रस्ताव फारममा भरी बीमितलाई प्रदान गर्नुपर्ने हुन्छ । त्यसपछि बीमा कम्पनी सोही प्रस्तावका आधारमा बीमालेख जारी गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
बीमा गरिने बस्तुका स्वास्थ्य जाँच, बस्तुपहिचानको लागि संकेत वा चिप्स ट्याग जडानलगायत निर्देशिकामा उल्लेख गरिएको काम गरे बापत प्राविधिकले ५ प्रतिशत कमिसन प्राप्त गर्ने छ ।