नेपाल मत्स्य समाजमा तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा मंसिर ११ गते काठमाडौंको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनमा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक तथा प्रसार र अनुसन्धानमा संलग्न सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा मन्त्री चौधरीले मत्स्यपालन कृषकको जीविकोपार्जन तथा आयआर्जनसँगै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन्। उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतको उपस्थिति थियो।
साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। त्यसपछि भएको अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
