कोल्ड स्टोरमा मन्त्रीको अनुगमन, व्यवसायीले दिए ऐन कार्यान्वयन सहज बनाउने सुझाव

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था बुझ्न काठमाडौंका दुई मासु कोल्ड स्टोरको छड्के अनुगमन गरेकी छन्। उनले बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरको निरीक्षण गरेकी हुन्।

मन्त्री चौधरी ललितपुरस्थित जावलाखेल क्वार्टरबाट आफैं स्कुटर चलाएर अनुगमनमा निस्किएकी थिइन्। स्कुटरको पछाडि उनका निजी सुरक्षा अधिकृत (पीएसओ) बसेका थिए। उनले दुवै कोल्ड स्टोरमा पुगेर मासुको भण्डारण, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको अवस्थाबारे जानकारी लिएकी थिइन्।

सीतापाइलास्थित बुढाथोकी कोल्डस्टोरका सञ्चालक वसन्त बुढाथोकीले मन्त्री चौधरीलाई स्वागत गर्दै कोल्ड स्टोरको सञ्चालन प्रक्रिया, मासु भण्डारण र ऐन कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए। भेटका क्रममा मन्त्री चौधरीले नयाँ ऐन कार्यान्वयनपछि व्यवसाय सञ्चालनमा परेको प्रभाव, देखिएका सहजता तथा व्यावहारिक कठिनाइबारे चासो राखेकी थिइन्।

जवाफमा सञ्चालक बुढाथोकीले मासुमा छाप लगाउने व्यवस्था सकारात्मक भए पनि एउटै सवारीसाधनमा विभिन्न लटमा आउने मासुमा प्रत्येक लटका लागि छुट्टाछुट्टै छाप लगाउनुपर्ने प्रक्रियाले व्यवहारमा असहजता सिर्जना गरेको बताए। एउटै गाडीमा आएका विभिन्न लटका मासुमा एकैपटक छाप लगाउन सकिने व्यवस्था भए प्रक्रिया थप सहज हुने उनको सुझाव थियो। बुढाथोकीको सुझाव सुनेपछि मन्त्री चौधरीले उक्त विषय आवश्यक पहल गर्ने बताएकी थिइन्।

मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा आएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले पहिलो चरणमा उपत्यकाबाट ऐन कार्यान्वयन सुरु गरेको हो।

सचिवालय सदस्य सरिता चौधरीका अनुसार अनुगमनका क्रममा मन्त्रीले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर र खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको निरीक्षण गरेकी थिइन्। उपभोक्ताको स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना गर्नुपर्नेमा मन्त्रीले जोड दिएको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *