काठमाडौंमा खसीको नाममा बाख्रीको मासु बिक्री, आठ जना नियन्त्रणमा
काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री–वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा आठ जनालाई बाख्रीको मासुसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट अन्दाजी ५६७ केजी बाख्रीको मासु बरामद गरेको जनाएको छ। उक्त मासु BAD ५७६० नम्बरको भ्यान र बा.२० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
नियन्त्रणमा लिइएकामा सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगु, सिकोट घर भई काठमाडौंको टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुर, महालक्ष्मी नगरपालिका–५ घर हुने ५० वर्षीय मनोज थापा र धादिङ, गजुरी गाउँपालिका–१ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन्।
त्यस्तै, ऐ.ऐ. घर भई बस्ने २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोक, तेमाल गाउँपालिका–३ घर हुने २७ वर्षीय टेकबहादुर तामाङ, दोलखा, मेलुङ गाउँपालिका–२ घर भई काठमाडौंको पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–२ घर भई काठमाडौंको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
