६ परिषद्–समितिमा २६ सदस्य मनोनयन गर्न आवेदन आह्वान

पशु स्वास्थ्य परिषद् र पशु चिकित्सा परिषद्मा पनि सदस्य माग, नेतृत्वकै पद रिक्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मातहतका विभिन्न ६ वटा परिषद् तथा समितिमा रिक्त सदस्य पदमा मनोनयनका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले ती निकायमा २६ सदस्य मनोनयन गर्न रोष्टर सूची तयार पार्ने भन्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले मंसिर ७ गते सूचना जारी गर्दै मंसिर १४ गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ। यसअघि कात्तिक २० गते आवेदन माग गरिए पनि पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले राष्ट्रिय बीउबिजन समिति, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समिति, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समिति, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, नेपाल पशु चिकित्सा परिषद् र प्लान्ट क्वारेन्टाइन समितिका लागि सदस्य माग गरेको छ।

माग गरिएका पदमध्ये राष्ट्रिय बीउबिजन समितिमा आठ, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिमा पाँच, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिमा चार, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा दुई, नेपाल पशु चिकित्सा परिषद्मा दुई र प्लान्ट क्वारेन्टाइन समितिमा पाँच सदस्य छन्।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा कम्तीमा एक महिलासहित दुई जना पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीबाट सदस्य माग गरिएको छ। त्यस्तै, नेपाल पशु चिकित्सा परिषद्मा कम्तीमा ‘ख’ श्रेणीका दर्तावाल पशु चिकित्सकमध्येबाट दुई सदस्य नियुक्त गर्ने प्रयोजनका लागि आवेदन माग गरिएको छ।

यद्यपि, यी दुवै परिषद्मा सदस्य मनोनयनको प्रक्रिया अघि बढिरहँदा नेतृत्व तहका पदसमेत रिक्त छन्। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा अध्यक्ष पद रिक्त छ भने नेपाल पशु चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार दुवै पद खाली छन्। महत्वपूर्ण पदाधिकारी नियुक्ति हुन नसकिरहेका बेला सदस्य मनोनयनको प्रक्रिया अघि बढाइनुलाई परिषद्हरूको प्रशासनिक तथा संस्थागत व्यवस्थापनसँग जोडेर हेरिएको छ।

राष्ट्रिय बीउबिजन समितिका लागि बागवानी, खाद्यान्न तथा घाँसेबाली विज्ञानका विषयविज्ञ, विश्वविद्यालयका बीउ विशेषज्ञ, बीउबिजन उद्यमी, उत्पादक तथा कृषकबाट सदस्य माग गरिएको छ। दुग्ध विकास बोर्डको कार्यकारी समितिमा सार्वजनिक निजी साझेदारीमा सञ्चालित दुग्धजन्य पशुपालन फार्मका सञ्चालकमध्येबाट एक र पेशागत वा विषयविज्ञमध्येबाट चार जना माग गरिएको छ।

त्यस्तै, चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिमा निजी तथा साना चिया र कफी किसानको प्रतिनिधित्व हुने गरी चार सदस्य माग गरिएको छ। प्लान्ट क्वारेन्टाइन समितिमा दुई जना विशेषज्ञ तथा कृषि क्षेत्रका कृषक, व्यवसायी वा उद्यमीमध्येबाट तीन जना सदस्य माग गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराम वा सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी मंसिर १४ गतेभित्र आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *