‘बाढी पर्यटक’ होइन, पशुपन्छी बचाउन जुटौँ : रजिष्ट्रार रावल

काठमाडौं । भोटेकोशी नदीको बाढीबाट प्रभावित क्षेत्रमा ठूलो संख्यामा पशुपन्छी प्रभावित भएपछि मृत पशुको उचित व्यवस्थापन, बाँचेका पशुका लागि आहारा तथा गोठको व्यवस्था र सम्भावित महामारी रोक्न खोप कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का रजिष्ट्रार जनकबहादुर रावलले बताएका छन्।

बाढी प्रभावित पशुपन्छीको उद्धार तथा उपचारका लागि विभिन्न निकाय र पेसागत संघ–संस्था सक्रिय भइरहेका बेला रजिष्ट्रार रावलले प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएका हुन्।

उनले बाढीमा परी मरेका पशुको उचित व्यवस्थापन नगरे रोग फैलिन सक्ने जोखिम रहेको भन्दै मृत पशुको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, बाढीका कारण गोठ तथा आहारको व्यवस्था प्रभावित भएकाले बाँचेका पशुपन्छीका लागि तत्काल सुरक्षित गोठ र पर्याप्त आहारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

महामारी फैलिन नदिन प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खोप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्। उद्धार कार्य थप प्रभावकारी हुन नसके आगामी दिनमा अवस्था भयावह हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

यसअघि नेपाल भेटेरिनरी एसोसिएसनले पशु सेवा विभाग र केन्द्रीय रिफरल पशु चिकित्सालयको समन्वयमा पशु चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ। टोलीले घाइते पशुको उपचार, रोग रोकथाम तथा स्थलगत अवस्थाको अध्ययन गर्ने जनाएको छ।

त्यस्तै, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का पदाधिकारी तथा कर्मचारीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार रुपैयाँ सहयोग गर्नुका साथै प्रभावित पशुपन्छीको उपचारका लागि औषधि तथा स्वास्थ्य सामग्रीसहितको टोली पठाउने तयारी गरेका छन्।

रजिष्ट्रार रावलले सहयोग आवश्यक भइरहेका बेला सहयोग गर्नुभन्दा बाढी प्रभावित क्षेत्र अवलोकन गर्न जाने ‘बाढी पर्यटक’को भीड बढी देखिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन्। उनले प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्नेभन्दा उद्धार, राहत र पशुपन्छीको संरक्षणमा सहयोग पुर्‍याउन सबै पक्षलाई आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *