साना किसानबाट डिडिसीलाई दैनिक ६० हजार लिटरभन्दा बढी दूध

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी) बीच साना किसानबाट उत्पादित दूधको खरिद तथा बजारीकरण विस्तार गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि साना किसानसँग आबद्ध दुग्ध उत्पादक सहकारी तथा किसानबाट डिडिसीले हाल खरिद गर्दै आएको परिमाणमा दैनिक थप १५ हजार लिटर दूध खरिद गर्नेछ। चालु आर्थिक वर्षभित्र उक्त परिमाणलाई बढाएर दैनिक ६० हजार लिटरभन्दा बढी दूध डिडिसीलाई उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सम्झौतामा डिडिसीले यसअघि दुई संस्थाको सञ्जालमार्फत खरिद गरेको दूधको बाँकी भुक्तानी एक महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। साथै दूधको मात्रा र गुणस्तर प्रारम्भिक सङ्कलन केन्द्रमै मापन गरिएको अवस्थाअनुसार कायम गर्नुपर्ने तथा दूध ढुवानीको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

दूध उत्पादन तथा पशुपालन बढाउन किसानका लागि तालिम, क्षमता विकासलगायत कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

सम्झौतापछि डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनका लागि सम्झौता महत्वपूर्ण कोशेढुङ्गा बन्ने बताए। उनले साना किसान कृषि सहकारी संस्थाहरूले सहकारी अभियान र किसानको आर्थिक उन्नतिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै डिडिसीले अब दूध सङ्कलन र बजारीकरणसँगै पशुपालन तथा दुग्ध उत्पादनका विभिन्न पक्षमा सहकार्य गर्ने बताए।

डिडिसीमा विगतमा देखिएका भुक्तानीसम्बन्धी समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले नियमित भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। किसानको आयस्तर सुधार र आर्थिक–सामाजिक रूपान्तरणमार्फत समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ थियो।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सम्झौताले किसानको आयआर्जन, उत्पादन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए। सरकारका नीति तथा कार्यक्रमलाई सहयोग गर्दै आएको संस्थाले डिडिसीलाई थप सुदृढ बनाउन किसान तहबाटै सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

पाठकले दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै डिडिसीमा सुधारको सुरुवात भइसकेकाले दुग्ध उत्पादक किसानलाई ढुक्क भएर अभियानमा जोडिन आग्रह गरे।

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँगको सम्झौता दुग्ध उत्पादक किसानका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले किसानको आर्थिक अवस्था सुधार गर्दै उत्पादन वृद्धि गर्न सम्झौताले थप प्रेरणा दिने बताए।

उनका अनुसार संघको सञ्जालमा आबद्ध संस्थाहरूले हाल दैनिक करिब ४७ हजार लिटर दूध उत्पादन गर्दै आएका छन्। तत्काल थप १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने र चालु आर्थिक वर्षभित्र दैनिक ६० हजार लिटरभन्दा बढी पुर्‍याउने लक्ष्य रहेको उनले बताए। किसानले दूध बिक्री गरेबापतको रकम समयमै प्राप्त गर्ने सुनिश्चितता हुनेमा आफू विश्वस्त रहेको उप्रेतीले बताए।

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपकर रूपाखेती, डिडिसीका उपमहाप्रबन्धक तथा कर्मचारीलगायतको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *