पशु चिकित्सकमाथि व्यङ्ग्यपछि ‘कमेडी नाइटस्’को क्षमायाचना

काठमाडौं।हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइटस् विथ च्याम्पियन्स’ मा प्रसारित एक संवादप्रति नेपाल भेटेरिनरी एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ। कार्यक्रमका एक प्रस्तुतीकरणमा प्रयोग गरिएको अभिव्यक्तिले पशु चिकित्सकहरूको पेसागत मर्यादा र आत्मसम्मानमा आँच पुर्‍याएको भन्दै एसोसिएसनले कार्यक्रमका सञ्चालक तथा निर्देशक विशाल भण्डारीलाई औपचारिक ध्यानाकर्षण पत्र पठाएको हो।

नेपाल भेटेरिनरी एसोसिएसनका अनुसार, कार्यक्रममा कलाकार भरतमणि पौडेलले “तपाईं कहाँको डाक्टर हो? तपाईं भेटेरिनरीमा पढेको डाक्टर हो? तपाईं भेटेरिनरीमा पढेको जस्तो छ क्या बुद्धि, तपाईंलाई म त भित्तामा पुर्‍याउँछु” भन्ने संवाद प्रयोग गरेका थिए, जसले सम्पूर्ण भेटेरिनरी पेसाकर्मीहरूको आत्मसम्मानमा चोट पुर्‍याएको एसोसिएसनको भनाइ छ।

पत्रमा उक्त अभिव्यक्तिले पशु चिकित्सा जस्तो वैज्ञानिक तथा मानव र पशु स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित पेसालाई होच्याउने, कमजोर देखाउने तथा पेसाकर्मीको आत्मसम्मानमा ठेस पुर्‍याउने काम गरेको उल्लेख गरिएको छ। एसोसिएसनले यस्तो प्रस्तुति हास्यव्यङ्ग्य वा कलात्मक अभिव्यक्तिको सीमाभन्दा बाहिर गएको दाबी गरेको छ।

एसोसिएसनले कार्यक्रम निर्माण पक्षसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न, भविष्यमा यस्ता संवेदनशील विषयमा सचेत रहन तथा यस्ता सामग्री पुनः प्रसारण नगर्न आग्रह गरेको छ। माग सम्बोधन नभए कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि पत्रमा उल्लेख छ।

एसोसिएसनको पत्रको जवाफमा ‘कमेडी नाइटस् विथ च्याम्पियन्स’का सञ्चालक तथा निर्देशक विशाल भण्डारीले लिखित स्पष्टीकरण दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले हास्यव्यङ्ग्य तथा राजनीतिक क्यारिकेचरको उद्देश्य समसामयिक विषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नु मात्र रहेको उल्लेख गर्दै कुनै पनि व्यक्ति, संस्था वा पेसाको प्रतिष्ठा, मर्यादा वा सम्मानमा आँच पुर्‍याउने अभिप्राय नरहेको बताएका छन्।

भण्डारीले पत्रमा प्रयोग गरिएको संवाद पशु चिकित्सकको पेसालाई लक्षित गरी अपमान गर्ने उद्देश्यले नभएको दाबी गर्दै त्यसबाट अनपेक्षित रूपमा पेसाकर्मीको भावनामा चोट पुगेको विषयप्रति दुःख व्यक्त गरेका छन्।

उनले आगामी दिनमा यस्ता सामग्री तयार गर्दा पेसागत संवेदनशीलता, सामाजिक जिम्मेवारी तथा मर्यादालाई थप ध्यानमा राखिने प्रतिबद्धता पनि जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *