नेपाल भेटेरिनरी एशोसिएसनको ५९औँ स्थापना दिवस मनाइँदै, सरोकारवालालाई सहकार्यको आह्वान
काठमाडौं। नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए) ले आफ्नो ५९औँ स्थापना दिवस मनाउँदै पशु स्वास्थ्य, जनस्वास्थ्य तथा भेटेरिनरी क्षेत्रका विद्यमान चुनौतीहरूको समाधानका लागि सरकार तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ।
एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा महासचिव डा. शंकर न्यौपानेद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण सदस्य, अग्रज तथा नवप्रवेशी पशु चिकित्सकहरू, साथै पशु चिकित्सा तथा पशुपन्छीपालन क्षेत्रसँग आबद्ध सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।
वि.सं. २०२४ असार ११ गते स्थापना भएको नेपाल भेटेरिनरी एशोसिएसनले नेपालको भेटेरिनरी पेशाको संस्थागत विकास, पशु चिकित्सकहरूको पेशागत हक, हित, अधिकार र मर्यादाको संरक्षण तथा प्रवर्द्धन, गुणस्तरीय र पहुँचयोग्य भेटेरिनरी सेवाको विस्तार, पशु स्वास्थ्य तथा जनस्वास्थ्यको संरक्षण र कृषि–पशुपालन क्षेत्रको दिगो विकासका लागि निरन्तर काम गर्दै आएको जनाएको छ।
सन्देशमा एशोसिएसनले स्थापना कालदेखि नै पशु स्वास्थ्य सेवा सुदृढीकरण, वैज्ञानिक अभ्यासको प्रवर्द्धन, नीतिगत पैरवी, पेशागत क्षमता अभिवृद्धि तथा राष्ट्रिय प्राथमिकताका विषयहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ। करिब छ दशक लामो यात्रामा एशोसिएसनले भेटेरिनरी क्षेत्रको व्यावसायिक विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
एशोसिएसनका अनुसार नेपालको खाद्य तथा पोषण सुरक्षा, कृषकको आयआर्जन अभिवृद्धि, रोजगारी सिर्जना, जैविक विविधता संरक्षण, पशु कल्याण, अनुसन्धान तथा ‘वन हेल्थ’ (One Health) अवधारणाको प्रवर्द्धनमा भेटेरिनरी क्षेत्रको योगदान महत्वपूर्ण र गौरवपूर्ण रहेको छ।
पशुपालन क्षेत्रलाई थप वैज्ञानिक, आधुनिक, प्रतिस्पर्धी र दिगो बनाउन एशोसिएसनले देशव्यापी रूपमा व्यावसायिक क्षमता अभिवृद्धि, नीतिगत पैरवी, निःशुल्क पशु स्वास्थ्य सेवा, सचेतनामूलक कार्यक्रम, अनुसन्धान तथा ज्ञान आदान–प्रदान, पेशागत सुदृढीकरण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।
स्थापना दिवसका अवसरमा एशोसिएसनले नेपाल सरकार तथा सम्बन्धित निकायहरूको ध्यान पशुपन्छी तथा भेटेरिनरी क्षेत्रमा देखिएका चुनौतीहरूप्रति पनि केन्द्रित गराएको छ। महामारीजन्य पशुपन्छी रोग नियन्त्रण, संघीय संरचनाअनुसार गुणस्तरीय भेटेरिनरी सेवाको पहुँच विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, प्रतिजैविक प्रतिरोध (AMR) न्यूनीकरण, जोनोसिस व्यवस्थापन, पशु कल्याण, खाद्य सुरक्षा, अनुसन्धान तथा नवप्रवर्तन, कानुनी तथा संस्थागत सुधार, भेटेरिनरी शिक्षाको गुणस्तर अभिवृद्धि तथा महामारीजन्य जोखिम व्यवस्थापनलाई वर्तमान समयका प्रमुख प्राथमिकताका विषयका रूपमा औँल्याइएको छ।
यी चुनौतीहरूको समाधान सरकार, विश्वविद्यालय तथा शैक्षिक संस्था, निजी क्षेत्र, विकास साझेदार र सम्पूर्ण भेटेरिनरी समुदायबीचको साझा प्रयास तथा सहकार्यबाट मात्र सम्भव हुने एशोसिएसनको विश्वास छ।
५९औँ स्थापना दिवसले पेशागत एकता, जिम्मेवारी, वैज्ञानिक दृष्टिकोण र सेवाभावका साथ अघि बढ्न थप प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्दै एशोसिएसनले समृद्ध पशुपालन क्षेत्र, सुरक्षित जनस्वास्थ्य र समुन्नत नेपालको निर्माणका लागि रचनात्मक सहकार्य, प्राविधिक योगदान तथा नीतिगत सहयोगमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
