सरकारी भवनमा रहेका संघ–संस्थाका कार्यालय हटाउन ७ दिने अल्टिमेटम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सरकारी तथा सार्वजनिक भवनमा रहेका पेशागत संघ–संस्थाका कार्यालय सात दिनभित्र हटाउन निर्देशन दिएको छ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

प्रशासनको यस्तो कदमसँगै  काठमाडौंको त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्सभित्र केन्द्रीय कार्यालय राखेर गतिविधि सञ्चालन गर्दै आएका भेटेरिनरी क्षेत्रका मुख्य पेशागत संगठनहरू प्रभावित हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्समा नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन (नेभ्ला), नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) तथा नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए) लगायतका संस्थाहरूका केन्द्रीय कार्यालय सञ्चालनमा रहेका छन्। जिल्ला प्रशासन कार्यालयको निर्देशनसँगै यी कार्यालय त्यहाँबाट नयाँ स्थानमा स्थानान्तरण हुनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  सोमबार जारी गरेको अत्यन्त जरुरी सूचनामा संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भई सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ, संगठन तथा संस्थाहरूका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा इकाइ कार्यालयहरू सरकारी भवन तथा संरचनाभित्र सञ्चालन भइरहेको पाइएकाले त्यस्ता कार्यालय हटाउन भनिएको छ।

सूचना

प्रशासनिक अधिकृत तीर्थराज कट्टेलद्वारा हस्ताक्षरित तथा २०८३ असार १ गते जारी गरिएको सूचनाअनुसार सरकारी भवनभित्र रहेका यस्ता संघसंस्थाका कार्यालय, साइनबोर्ड तथा अन्य संरचनाहरू सात दिनभित्र हटाई निजी स्वामित्व वा भाडामा लिइएको भवनमा स्थानान्तरण गरिसक्नुपर्नेछ। स्थानान्तरण सम्पन्न भएपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई उपलब्ध गराउन पनि भनिएको छ।

त्यस्तै, सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई समेत आफ्नो कार्यालय परिसरभित्र यस्ता संघसंस्थाले प्रयोग गरिरहेका कार्यकक्ष, साइनबोर्ड तथा संरचनाहरू हटाई उनीहरूले ओगटेका भाग वा क्षेत्र खाली गराउन निर्देशन दिइएको छ।

प्रशासनले सूचनाको अवज्ञा गरी सरकारी कार्यालयका संरचनाभित्र संघसंस्थाका कार्यालयहरू सञ्चालन गरिरहेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *