बंगुरको मासु खाएपछि एकै गाउँका १६ जना बिरामी
कावासोती । नवलपरासी (पूर्व) को कावासोती नगरपालिका वडा नम्बर १४ हेगौलीमा बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन् । सामूहिक भोजमा बंगुरको मासु खाएका स्थानीय बासिन्दाहरूमा स्वास्थ्य समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार गत जेठ २३ गते हेगौलीका करिब १०५ घरधुरीका मानिसहरूले बंगुर काटेर सामूहिक भोज खाएका थिए । भोज खाएको केही समयपछि स्थानीय ४४ वर्षीया रामकुमारी महतोसहित १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षणहरू देखा परेका हुन् ।
गाउँमा सामूहिक रूपमा मानिसहरू बिरामी परेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको थियो । प्रहरीको सहयोगमा सबै बिरामीहरूलाई तत्कालै डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा पुर्याइएको छ । हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ र अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक सूचनामार्फत खानपानमा विशेष सावधानी अपनाउन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा प्रहरीलाई खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
